images

२०८३ आश्विन २ गते

images
images
images
  • विचार
  • बुबाको मुख हेर्ने दिन  ‘ह्याप्पी फादर्स...
अर्थसमाचार संवाददाता

बुबाको मुख हेर्ने दिन  ‘ह्याप्पी फादर्स डे’ भन्दा धेरै गहिरो कथा

बुबाको मुख हेर्ने दिन  ‘ह्याप्पी फादर्स डे’ भन्दा धेरै गहिरो कथा

images
images
शुक्रवार, भाद्र २६ २०८३
शुक्रवार, भाद्र २६ २०८३
  • काठमाडौँ । बुबाको मुख हेर्ने दिन केवल औपचारिक रूपमा ‘ह्याप्पी फादर्स डे’ भन्ने, सामाजिक सञ्जालमा तस्बिर राख्ने वा उपहार दिने दिन मात्र होइन। यसको पछाडि एउटा गहिरो भावनात्मक अर्थ छ,सन्तानका लागि बुबाले जीवनभर निर्वाह गरेको जिम्मेवारी, गरेको त्याग, सहन गरेको दबाब र नदेखाएको संघर्षलाई सम्झने दिन हो।

    images
    images

    बाल्यकालमा सन्तानले बुबाको भूमिका र जिम्मेवारीको वास्तविक गहिराइ बुझ्न सक्दैन। बच्चाका लागि बुबा भनेको आफूले चाहेको कुरा पूरा गरिदिने, आवश्यक पर्दा साथ दिने र सुरक्षित महसुस गराउने व्यक्ति हुन्छ। तर उमेर बढ्दै जाँदा मात्र थाहा हुन्छ—सहज देखिएको जीवनको पछाडि बुबाले कति ठूलो आर्थिक, भावनात्मक र सामाजिक जिम्मेवारी बोकेका रहेछन्।

    आमाको माया धेरैपटक स्वाभाविक र प्रत्यक्ष रूपमा अनुभूति हुन्छ भने बुबाको माया जिम्मेवारी, मौनता र त्यागका रूपमा देखिन्छ। त्यसैले बुबाको योगदानलाई शब्दमा पूर्ण रूपमा व्याख्या गर्न सम्भव हुँदैन। परिवारको आर्थिक व्यवस्थापनदेखि सन्तानको शिक्षा, स्वास्थ्य, भविष्य र सुरक्षासम्म बुबाले आफ्नो व्यक्तिगत इच्छा र आवश्यकतालाई पछाडि राखेर जिम्मेवारी पूरा गरिरहेका हुन्छन्।

    images
    images

    जीवनमा अनेक चुनौती आए पनि त्यसको सम्पूर्ण दबाब सन्तानसम्म नपुगोस् भन्ने प्रयास धेरै बुबाले गर्छन्। उनीहरू आफ्ना समस्या लुकाएर सन्तानको अनुहारमा खुसी देख्न चाहन्छन्।

    म स्वयं दुई सन्तानको बुबा भएपछि यो अनुभूति अझ गहिरो भएको छ। सानो छँदा आफ्ना बुबाले हाम्रो लागि गरेको निस्वार्थ प्रेम र त्यागको वास्तविक मूल्य बुझ्न सकिँदैनथ्यो। तर आज आफ्नै सन्तानको बुबा भएपछि महसुस हुन्छ—बुबाको प्रेम केवल भावना होइन, निरन्तर जिम्मेवारी पनि रहेछ।

    मेरो सानी छोरीसँग जोडिएको एउटा सामान्य तर मेरो लागि निकै भावनात्मक घटना छ। उनी किनमेल गर्न जाँदा ट्रलीमा आफूलाई मन परेका, तर आवश्यक नभएका अनेकौँ सामान राख्छिन्। कहिलेकाहीँ आर्थिक अवस्था र अनावश्यक खर्चको हिसाब गर्दै मैले उनलाई थाहा नदिई तीमध्ये केही सामान फेरि सेल्फमै राखिदिन्छु।

    घर पुगेपछि उनी उत्सुक हुँदै सोध्छिन्, ‘त्यो सामान कहाँ गयो?’ सामान नदेखेपछि उनी रुन्छिन्।

    त्यो क्षणमा उनलाई वास्तविकता बुझाउन सजिलो हुँदैन। उनलाई कसरी भनूँ—बुबाले चाहेर पनि हरेक कुरा किन्न सक्दैनरु परिवारको आम्दानी, रोजगारीको अनिश्चितता, घरायसी खर्च र भविष्यको जिम्मेवारीबीच बुबाले कहिलेकाहीँ आफ्नै चाहना काटेर सन्तानको आवश्यकता प्राथमिकतामा राख्नुपर्छ।

    तर उनको आँसु देखेपछि म पनि बुबा भएर अर्को निर्णय गर्छु—‘भोलि किनिदिन्छु।’

    अर्को दिन त्यो सामान किनेर घर ल्याउँदा उनको अनुहारमा देखिने खुसीले मलाई पनि खुसी बनाउँछ। त्यतिबेला उनले बुझ्दिनन् कि त्यो सानो खुसीका लागि बुबाले आफ्नो बजेटभित्र अर्को कुनै खर्च घटाएको हुन सक्छ। तर बुबाका लागि सन्तानको खुसी धेरैपटक आफ्नै कठिनाइभन्दा ठूलो हुन्छ।

    यही नै बुबाको प्रेमको एउटा मौन पक्ष हो। बुबा आफूलाई परेको आर्थिक दबाब, रोजगारीको चिन्ता, भविष्यको डर वा जीवनका अन्य चुनौती सन्तानको अनुहारमा देखाउन चाहँदैनन्। उनीहरू आफ्ना समस्यालाई मुस्कानभित्र लुकाएर सन्तानको खुसीमा खुसी हुन खोज्छन्।

    नेपाली समाजमा यो जिम्मेवारी अझ व्यापक रूपमा देखिन्छ। परिवारको आर्थिक आधार बन्ने, सन्तानको शिक्षा र भविष्य सुरक्षित गर्ने, घरपरिवारको आवश्यकता पूरा गर्ने र कठिन समयमा निर्णय लिने जिम्मेवारी धेरै बुबाले आफ्नो काँधमा बोकेका हुन्छन्।

    तर बुबाको योगदानलाई धेरैपटक ‘यो त उहाँको कर्तव्य हो’ भनेर सामान्य रूपमा लिइन्छ। कर्तव्य अवश्य हो, तर त्यो कर्तव्य पूरा गर्न आवश्यक पर्ने त्याग, धैर्य, चिन्ता र संघर्षलाई पनि सम्मान गर्नुपर्छ।

    बुबा केवल जैविक रूपमा सन्तानका पिता हुने व्यक्ति मात्र होइनन्। बुबा त्यो व्यक्ति हुन्, जसले सन्तानको भविष्यका लागि आफ्नो वर्तमानसँग सम्झौता गर्छन्। आफूले भोगेको कठिनाइबाट सन्तानलाई जोगाउन खोज्छन्, आफूले नपाएको अवसर सन्तानलाई दिन चाहन्छन् र आफू थाकेको भए पनि सन्तानको अगाडि बलियो देखिन खोज्छन्।

    त्यसैले ‘फादर्स डे’ एउटा शुभकामना मात्र होइन, आत्मचिन्तनको अवसर पनि हो। हामीले बाल्यकालमा बुबाबाट कति कुरा पायौँ भन्नेभन्दा ती कुरा उपलब्ध गराउन बुबाले के–कति त्याग गरेका थिए भन्ने बुझ्ने दिन हो।

    आज म स्वयं दुई सन्तानको बुबा भएर आफ्ना बुबालाई अझ फरक दृष्टिले सम्झन्छु। हिजो उहाँले हाम्रो लागि किन त्यस्ता निर्णय गर्नुभयो भन्ने बुझिँदैनथ्योस आज आफ्ना छोराछोरीका लागि निर्णय गर्दा उहाँको मन बुझ्न थालेको छु।

    सायद बुबाको प्रेमको सबैभन्दा सुन्दर पक्ष यही हो—सन्तान ठूलो भएपछि मात्र बुबाको मौनता पढ्न सिक्छ।

    बुबाको मुख हेर्ने दिन त्यसैले केवल ‘ह्याप्पी फादर्स डे’ भन्ने दिन होइन। यो बुबाको अनुहारमा नदेखिएको चिन्ता, शब्दमा नसुनिएको माया र जीवनभर बोकेको जिम्मेवारीलाई सम्झने दिन हो।

    र सबैभन्दा महत्वपूर्ण कुरा, बुबा जीवित हुनुहुन्छ भने उनलाई आज मात्र होइन, हरेक दिन सम्मान, समय र आत्मीयता दिन सक्नु नै सबैभन्दा ठूलो उपहार हो।

    किनकि बुबाले सन्तानको खुसीमा आफ्नो खुसी खोजिरहेका हुन्छन्—र यही निस्वार्थ प्रेमले बुबालाई केवल ‘बुबा’ होइन, सन्तानको जीवनको एउटा मौन आधार बनाउँछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend