काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएको आरोपमा कैलालीका एक विद्यालय व्यवस्थापन समिति सदस्यविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। गौरीगंगा नगरपालिका वडा नं. ४ स्थित कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य देवबहादुर बमविरुद्ध आयोगले मंगलबार आरोपपत्र दायर गरेको हो।तोकिए बमोजिमको थप सेवा सुविधा तथा पारिश्रमिक उपलब्ध गराउन निर्णय गरिदिन्छु भनी बार्गेनिङ गरेर सेवाग्राहीसँग घुस माग गरेको उजुरीका आधारमा अख्तियारको कञ्चनपुरस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा बमले पदीय हैसियतको दुरुपयोग गरी बदनियतपूर्वक घुस लिएको पुष्टि भएपछि उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार दुई लाख रुपैयाँ बिगो कायम गरिएको छ। आयोगले सोही ऐन बमोजिम बिगो बराबरको जरिवाना र कैद सजायको मागदाबी लिई विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।




.gif)



