काठमाडौँ । नबिल बैंकले आफ्नो ४२ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले साधारणसभा आउँदो असोज २२ गते आयोजना गर्ने निर्णय गरेको हो।सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ः३० बजेबाट सुरु हुनेछ।सभाले गत आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्ताव गरेको कुल १५.८० प्रतिशत लाभांश अनुमोदन गर्नेछ । जसमा ५ प्रतिशत बोनस सेयर र करसहित १०.८० प्रतिशत नगद लाभांश समावेश छन्। यसका साथै, सभाले ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरतर्फ पनि करसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। व्यवसायिक सुदृढीकरणका लागि बैंकले आफ्नो हालको अधिकृत पुँजीमा भारी वृद्धि गरी ३४ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव समेत अघि बढाएको छ। पुँजी संरचनामा हुने यस परिवर्तनसँगै अधिकृत, जारी र चुक्तापुँजी समेत बढ्ने भएकाले सोहीअनुरूप प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गरिनेछ भने नियमनकारी निकायबाट कुनै फेरबदल वा निर्देशन आएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने निर्णय पनि सभाले अनुमोदन गर्नेछ।
यसैगरी, सभाले आवश्यकता अनुसार अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्तिको सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ भने संस्थापक सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरूको निर्वाचन समेत गर्नेछ। बैठकले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदनलाई औपचारिकता दिँदै चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ। यससँगै, सहायक कम्पनीहरू नबिल इन्भेस्टमेन्ट बैंकिङ र नबिल स्टक डिलरको गत आर्थिक वर्षको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण पनि सभाले स्वीकृत गर्नेछ।लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले आगामी असोज १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज १३ गतेसम्म नेप्सेमा कारोबार गरी कायम रहेका सेयरधनीहरू मात्रै लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य मानिनेछन्।




.gif)



