images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • हुम्लामा चैतलो पर्व मनाएर वसन्त ऋतुको...

हुम्लामा चैतलो पर्व मनाएर वसन्त ऋतुको स्वागत

हुम्लामा चैतलो पर्व मनाएर वसन्त ऋतुको स्वागत

images
images
मंगलवार, फाल्गुण १३ २०८१
मंगलवार, फाल्गुण १३ २०८१
  • हुम्ला । सिमकोट र ठेहे गाउँमा प्रत्येक वर्ष जस्तै यो वर्ष पनि चैतलो पर्व मनाएर वसन्त ऋतुको स्वागत गरिएको छ ।यो पर्वलाई यहाँका सधवा महिलाले पहेंलो वस्त्रधारण गरेर गाउँको सामूहिक सभास्थल ‘चौपाडी वा भुओखाडो’मा सामूहिक गीतिनाचका रूपमा खेल्ने गरिन्छ । यो पर्व वसन्तलाई स्वागत गर्ने पर्वका रूपमा पनि मान्ने गरिन्छ ।

    images
    images

    गाउँगाउँको टोलटोलबाट पीत वस्त्रधारण गरेर विभिन्न प्रकारका गरगहना लगाई सामूहिक रूपमा खेल्ने गीति नाच नै चैतलो हो ।गाउँको  सबैलाई पायक पर्ने ठाउँ जसलाई स्थानीय भाषामा स्थान विशेषः ‘चौपाडी, सभाथाडो, भुओखाडो’ आदि ठाउँमा जम्मा भएर ज्येष्ठताका आधारमा पङ्क्तिवद्ध भई ‘बाह्र भाइ मस्टो, नौ दुर्गा भवानी’को प्रशस्तिलगायत ऋतुहरूको बारेमा गुणगान गाएर गीति नाच खेल्ने गरिन्छ ।

    यी ठाउँमा सुरुमा देवदेवी र पञ्चभूतत्ववलाई खुसी पार्न मागल, चुड्किला, चाचडी, आरतीजस्ता लोक प्रस्तुति गाइन्छ भने त्यसपछि रमाइलोका लागि चुड्किला र देउडा खेल्ने गरिन्छ ।सिमकोटको तल्लो गाउँ खाद्दकको बीचमा रहेको चौपाडीमा यहाँको मस्टो देवताले ठूलो शिलामुनि शिला अर्थात् सहकालका लागि दीक्षादाना राखेर चैतलो खेल्ने चैतालुहरूलाई टीका लगाएपछि मात्र खेल आधिकारिक रूपमा सुरु भएको मानिन्छ ।

    images
    images

    विशेषतः सिमकोट गाउँपालिकाको वडानम्बर १ र २, ठेहे गाउँ र सिमकोट वडा नम्बर ५ र ६ खाद्दक, पाँबाडा र लादेवाडा गाउँका स्थानीयहरूले अनिवार्य रूपमा फागुन १२ गते मनाइने महिला पर्व हो चैतलो । यसलाई यस क्षेत्रको तीजभन्दा पनि ठूलो मान्ने गरिन्छ । आफ्ना पतिको दीर्घायुको कामना गर्दै नयाँ आउने ऋतुको सुरुवाती ऋतु वसन्तको आगमनलाई स्वागत गरेर वर्षभरि नै राम्रो होस् भन्ने कामनाका साथ प्रकृति र संस्कृतिलाई संयोजन गर्ने गराउने पर्वका रूपमा चैतलोलाई मानिंदै आएको छ ।

    यो गीति नाचपछि आफन्त र नजिकका मित्रलाई घरमा बोलाएर चिउला, च्याउँका, खिर, भात, सेल, मासुलगायत अन्य विभिन्न मिष्ठान्न परिकार खुवाउने गर्ने चलन रहेको छ । यो पर्वलाई किन फागुन १२ गते नै मनाइने भएकाले अरु पर्वभन्दा यसलाई विशेष पहिरन र आभूषण लगाएर महिला तथा कन्या केटीले मात्र खेल्न पाउने महिला पर्व हो । यो पर्वमा चैतलो खेल्ने जाने चैतलै रानीहरूले अनिवार्य रूपमा रेशमी कपडाको पीतवस्त्रको लामो लुगा ओड्नु पर्ने परम्परा नौलो र मौलिक रहेको छ ।

    यस पर्वलाई  संस्कृति र प्रकृतिलाई अन्तरघुलन गर्ने गराउने एक सशक्त माध्यम मानिएको छ । चैतलो पर्वका विभिन्न प्रकार भए पनि सिमकोट र ठेहे गाउँका खश क्षेत्री समुदायले मान्ने विशेष प्रकारको यो पर्वका बारेमा थप खोजी भएको छैन ।विशेष गरी सधवा महिला र अवकन्या छोरीले मात्र खेल्ने पाउने यो पर्व नारी पर्व पनि हो । यो पर्वमा देवदेवीको प्रशस्ति गाउनुका साथै विभिन्न ऋतुको गुणगानका साथै चुडकिला र अन्य विभिन्न प्रकारका गीत गाएर मनाइन्छ भने यो अवसरमा पाहुना तथा अतिथिलाई पनि सम्मानका साथ खानपान गर्ने गराउने चलन रहेको छ ।सिमकोट गाउँपालिकाले यो पर्वको अवसरमा सोमबार बिदा पनि दिएको थियो । २०७९ सालबाट फागुन १२ गते सार्वजनिक बिदा दिने निर्णय भएको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend