काठमाडौंः संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको छ । केपी शर्मा ओलीले गत शुक्रवार भएको राजावादीहरूको हिंसात्मक आन्दोलन, विपक्षी दलहरूले उठाउँदै आएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्ती प्रकरण लगायत विषयमा सम्बोधन गर्ने कार्यसूची छ ।
आजको बैठकमा ‘बैकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक( २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले जलस्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेस गर्नेछन् ।
यसै गरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन( २०८१’ पेस गर्ने छन् ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक– २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक( २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा रहेको छ ।
प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्र लगायत विपक्षी दलहरूको अवरोधका कारण एक साता देखि संसद बैठक भने अवरुद्ध हुँदै आएको छ ।




.gif)





