images

२०८३ आश्विन २ गते

images
images
images
  • उर्जा
  • इप्पान अध्यक्ष कार्कीको नेपालको जलविद्युतमा लगानी...

इप्पान अध्यक्ष कार्कीको नेपालको जलविद्युतमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई आग्रह

इप्पान अध्यक्ष कार्कीको नेपालको जलविद्युतमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई आग्रह

images
images
बुधवार, बैशाख ३१ २०८२
बुधवार, बैशाख ३१ २०८२
  • काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणशे कार्कीले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई आग्रह गरेका छन् ।फ्रान्सको राजधानी पेरिसमा आयोजित फ्रान्स-नेपाल जलविद्युत् लगानी सम्मेलन लाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले दक्षिण एसियामा बढीरहेको ऊर्जाको माग पूरा गर्न नेपालको जलविद्युतको महत्वपूर्ण भूमिका रहने हुनाले बजारको चिन्ता नगरी नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।

    images
    images

    सन १९९९ अघि नेपालको कुल विद्युत उत्पादन क्षमता २५० मेगावाट रहेकोमा निजी क्षेत्र प्रवेश गरेको २५ वर्षमै आज नेपालले ३,५०० मेगावाट विद्युत उत्पादन क्षमता पुर्‍याएको छ । यसमा निजी क्षेत्रको योगदान ८० प्रतिशत अर्थात २८०० मेगावाट पुगेको कार्कीले जानकारी गराए ।नेपालले प्राप्त गरेको यस उपलब्धीमा फ्रान्सको पनि साथ र सहयोग रहेको स्मरण गराउँदै कार्कीले द्विपक्षीय सम्बन्ध, वित्तीय उपकरण, प्राविधिक सहयोग र संस्थागत विकासमा नेपाल र फ्रान्सले सहयकार्य गरिरहेको पनि बताएका थिए । यस्ता साझेदारीले दिगो, समावेशी र जलवायु प्रतिरोधी ऊर्जा विकासप्रति नेपाल र फ्रान्सको साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गरिरहेको उनको भनाई थियो ।

    त्रिशूली नदीमा निर्माणाधिन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनमा फ्रान्सले वित्तीय सहयोग गरेको कार्कीले स्मरण गराएका थिए । यस परियोजनाको लागि फ्रान्सले अन्तर्राष्ट्रिय वित्त निगम सँग मिलेर ४५३ मिलियन अमेरिकी डलरको ऋण उपलब्ध गराएको थियो । यो परियोजनाबाट नेपालको विद्युत आपूर्तिमा उल्लेख्य सहयोग पुग्ने विश्वास गरिएको छ ।त्यस्तै सन् २०२५ मा फ्रेन्च दूतावास, नेपाल विद्युत प्राधिकरण , र ब्लू वाटर इन्टेलिजेन्स बीचको सहकार्यमा सुरु गरिएको हाइड्रोनेपाल परियोजनाले कृत्रिम बुद्धिमत्ता मा आधारित उपकरणहरू प्रयोग गरी नदी बेसिनहरूलाई डिजिटल बनाउने र जलवायुगत पूर्वानुमान क्षमतामा सुधार ल्याउने कार्यमा सहयोग पुर्‍याइरहेको पनि कार्कीले बताए ।

    images
    images

    सार्वजनिक-निजी सहकार्य अन्तर्गत सुरु भएको हाइड्रोनेपाल जस्तै मोडेलमा कार्बन ट्रेड, सीमापार व्यापार, र अनुसन्धान जस्ता क्षेत्रहरूमा पनि काम गर्न सकिने उनको भनाई थियो । नेपालमा व्यवसाय–देखि–व्यवसाय र सार्वजनिक–निजी साझेदारी  दुबै मोडलमा काम गर्नको लागि अपार सम्भावना छ । यस्ता साझेदारीहरूमार्फत प्रविधि स्थानान्तरण, परामर्श, परियोजना विकास, हरित वित्तपोषण र नवप्रवर्तनको क्षेत्रमा पनि काम गर्न सकिन्छ ।जलविद्युत उपकरण, स्मार्ट ग्रिड प्रणाली, र इन्जिनियरिङ सेवामा विशेषज्ञता राख्ने फ्रेन्च कम्पनीहरू नेपालको बढ्दो ऊर्जा बजारसँग सहकार्य गर्दा उपयुक्त हुने कार्कीले बताए । यस्ता साझेदारीहरूले रोजगारी सिर्जना, आर्थिक वृद्धि, र अत्याधुनिक प्रविधिको हस्तान्तरणमा पनि मद्दत पुग्ने विश्वास गरिएको छ ।

    सन् २०३५ सम्ममा २८,५०० मेगावाट ऊर्जा उत्पादन पुर्‍याउने सरकारी लक्ष्यलाई ध्यानमा राख्दै, नेपालले ठूला परिमाणमा प्रत्यक्ष विदेशी लगानी लाई स्वागत गर्ने तयारी गरिरहेको पनि कार्कीको भनाई थियो । सो लक्ष्य अनुसार, १५,००० मेगावाट भारतमा निर्यात गरिनेछ भने बाँकी १३,५०० मेगावाट स्वदेशमै उपयोग गरिनेछ। यो महत्वाकांक्षी योजना अन्तर्राष्ट्रिय लगानीकर्ताहरूका लागि बीमा, बैंकिङ, निर्माण, शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका विभिन्न क्षेत्रहरूमा अवसरको रुपमा आएको कार्कीले बताए ।करीब ४६ अर्ब अमेरिकी डलर अनुमानित लगानीसहित विस्तार भइरहेको यो योजनामा अन्वेषण गर्न चाहने अन्तर्राष्ट्रिय लगानीकर्ताहरूका लागि अपार सम्भावनाहरू बोकेको यस योजनालाई लिएर नेपालमा थप सहकार्य र लगानी प्रवर्द्धन गर्नका लागि इप्पानले सहजीकरण गर्ने पनि कार्कीले विश्वास दिलाए ।

    यो दृष्टिकोणले ऊर्जा व्यापार र संयुक्त लगानीको विकास, विद्यमान जलविद्युत् आयोजना‌हरूमा इक्विटी लगानीको प्रवर्द्धन, जलविद्युत् आयोजनाहरूको लागि ऋण लगानी, जलविद्युत् विकासको विशेषज्ञता प्रयोग, नविकरणीय ऊर्जा प्रविधिहरू विस्तार, सरोकारवाला पक्षहरूमा ज्ञान स्थानान्तरण, क्षमता विकास तथा तालिम, संयुक्त अनुसन्धान र विकास, ठूला जलविद्युत् आयोजनाहरूको वित्तीय व्यवस्था, नीति समर्थन तथा संस्थागत सुदृढीकरण, व्यापारिक अवसर सिर्जना, जलविद्युत् उपकरण र इन्जिनियरिङ सेवा आपूर्ति, स्मार्ट ग्रिड र प्रसारण प्रणालीको आधुनिकीकरण, जलविज्ञान सम्बन्धी पूर्वानुमान र जलविद्युत् सञ्चालनको डिजिटलिकरण, परामर्श र परियोजना व्यवस्थापन सेवा उपलब्ध गराउने, कार्बन व्यापार सुरु गर्ने, ऊर्जा व्यापार र क्षेत्रीय एकीकरणलाई सहज बनाउने आदि थुप्रै अवसरहरूको ढोका खोल्ने कार्कीको भनाई थियो ।

    नेपालमा भविष्यमा हुने विशाल लगानी सम्भावनालाई ध्यानमा राख्दै म विश्वस्त छु कि अन्तर्राष्ट्रिय लगानीकर्ता र निजी क्षेत्रको सहयोगमा नेपालले आफ्ना ऊर्जा लक्ष्यहरू प्राप्त गर्ने दिशामा लगातार प्रगति गर्ने पनि कार्कीले उल्लेख गरेका थिए ।आगामी असोज १ र २ गते आयोजना हुन गइरहेको पावर समिट २०२५ मा सहभागी भई नेपाललाई क्षेत्रीय बजारमा ऊर्जा आपूर्ति गर्ने मुलुककको रुपमा स्थापित गर्ने दिशामा साथ र सहयोग गर्न पनि कार्कीले आग्रह गरेका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend