काठमाडौँ, साउन २३ गते–नेपालले आर्थिक वर्ष २०८१।८२ मा भारत र बङ्गलादेशमा गरी साढे १७ अर्ब रुपैयाँभन्दा बढी मूल्य बराबरको विद्युत् निर्यात गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार नेपाल विद्युत् प्राधिकरणले भारतमा करिब १७ अर्ब १९ करोड रुपैयाँ र बङ्गलादेशमा २६ करोड ६७ लाख रुपैयाँ बराबरको विद्युत् बिक्री गरेको हो।
सोही अवधिमा नेपालले भारतबाट करिब १२ अर्ब ९२ करोड रुपैयाँको विद्युत् आयात गरेको छ। यस आधारमा नेपाल विद्युत् व्यापारमा ‘खुद निर्यातक’ राष्ट्र बन्न सफल भएको ऊर्जा मन्त्री दीपक खड्काले बताउनुभयो। उहाँका अनुसार यो उपलब्धि ऊर्जा कूटनीति र आर्थिक समृद्धिको दिशामा महत्वपूर्ण कोसेढुङ्गा सावित भएको छ।
बङ्गलादेश सँग भएको त्रिपक्षीय सम्झौता अनुसार नेपालले हाल ४० मेगावाट विद्युत् निर्यात गरिरहेको छ। वर्षायाममा पानीको बहाव र विद्युत् उत्पादन बढ्ने समयलाई लक्षित गर्दै नेपालले भारतीय ऊर्जा बजारको डे–अहेड र रियल टाइम मार्केट मार्फत प्रतिस्पर्धी मूल्यमा निर्यात गरिरहेको छ। साथै, एनभिभिएन मार्फत मध्यकालीन सम्झौताका आधारमा समेत भारतमा विद्युत् आपूर्ति भइरहेको छ।
हाल नेपालले भारतका विभिन्न राज्यहरूमा दैनिक ७ सय मेगावाट भन्दा बढी विद्युत् निर्यात गरिरहेको प्राधिकरणले जनाएको छ।




.gif)





