काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज सोमबार बिहान बस्दैछ। सभापति शेरबहादुर देउवाले निजी निवास बूढानीलकण्ठमा बिहान १०ः०० बजे बैठक बोलाएका हुन्।
बैठकमा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार चयन र उपसभामुख इन्दिरा रानामगर विरुद्ध उठेको विवादबारे छलफल हुने जनाइएको छ।
साउन २८ गते संघीय निजामती सेवा विधेयक माथि छलफलका क्रममा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा विवाद उत्पन्न भएपछि समितिका तत्कालीन सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका थिए। प्रतिनिधिसभा नियमावली अनुसार समितिको सभापति पद रिक्त भएको १५ दिनभित्र निर्वाचन गर्नुपर्ने प्रावधान छ।
यसैबीच, कांग्रेस र एमालेले उपसभामुख रानामगरले पदीय आचरण विपरीत काम गरेको भन्दै हस्ताक्षर संकलन गरिसकेका छन्। तर, कांग्रेस भित्रै उक्त हस्ताक्षर संकलनलाई लिएर मतभेद देखिएको छ। सभापति देउवा विरुद्धको समूहका डा.शेखर कोइराला, गगन थापा र विश्वप्रकाश शर्माले यसप्रति विरोध जनाएका छन्। बैठकमा यी विषयलाई लिएर निर्णय हुने अपेक्षा गरिएको छ।




.gif)





