काठमाडौँ । भदौ २१, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीहरू गलत नहुने तर पार्टीभित्र आबद्ध व्यक्तिहरूको गल्तीले संगठनमा असर पर्ने बताएका छन्।
शनिबार नेपाली कांग्रेस, काठमाडौं महानगरपालिका–३० कार्यसमितिद्वारा आयोजित ‘बीपीको विचार र वर्तमान नेपालको राजनीति’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले कांग्रेसभित्र गहिरो आत्मसमीक्षा र शुद्धीकरणको आवश्यकता औंल्याए।
कांग्रेस स्थापनाकाल देखिकै राष्ट्रिय पार्टी हो, थापाले भने, व्यक्तिले गरेका गल्ती पार्टीले भोग्दैन, गल्ती गर्नेले नै त्यसको मूल्य चुकाउनुपर्छ।
उनले पूर्वप्रधानमन्त्री बीपी कोइरालाको विचार अझै पनि सान्दर्भिक रहेको उल्लेख गर्दै पार्टी र नेताहरूले बीपीको सिद्धान्त अनुसार आचरण गर्नुपर्ने बताए।
कांग्रेस डर र लोभबाट मुक्त हुनुपर्छ, थापाले जोड दिए, सरकारमा रहनु वा नहुनु भन्दा पनि सिद्धान्तमा अडिनु ठूलो कुरा हो। चुनाव हार्ने डरले गठबन्धन गर्दै अर्काको चुनाव चिन्हमा भोट हाल्ने प्रवृत्तिबाट कांग्रेसले बाहिर निस्कनुपर्छ।
कार्यक्रममा काठमाडौँ महानगर–३० कार्यसमितिका सभापति दलबहादुर कार्की, काठमाडौँ–४ प्रदेश ‘क’ का सभापति विमलकुमार होडा लगायत नेताहरूले बीपी कोइरालाको योगदान र नेपालको वर्तमान राजनीतिक अवस्थाबारे आफ्ना धारणा राखेका थिए।




.gif)





