images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • प्रधानमन्त्रीले कांग्रेसको आग्रहलाई बारम्बार अस्वीकार, गठबन्धन...

प्रधानमन्त्रीले कांग्रेसको आग्रहलाई बारम्बार अस्वीकार, गठबन्धन संकटमा

प्रधानमन्त्रीले कांग्रेसको आग्रहलाई बारम्बार अस्वीकार, गठबन्धन संकटमा

images
images
सोमवार, भाद्र २३ २०८२
सोमवार, भाद्र २३ २०८२
  • काठमाडौँ । भदौ २३, सत्तारूढ नेपाली कांग्रेस भित्र नेकपा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल फिर्ता लिनुपर्ने आवाज तीव्र रूपमा उठ्न थालेको छ। जेन जी आन्दोलन माथि सरकारले गरेको बल प्रयोग, सामाजिक सञ्जाल बन्द, र प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार कांग्रेसको आग्रहहरूलाई बारम्बार अस्वीकार गरिरहेकाले गठबन्धनको औचित्य माथि गम्भीर प्रश्न उठेका छन्।

    images
    images

    सोमबार बसेको कांग्रेसको आकस्मिक पदाधिकारी बैठकमा वरिष्ठ नेता विमलेन्द्र निधीले सरकारले आन्दोलनकारी युवा माथि गरेको दमन लोकतान्त्रिक मूल्य र मान्यता विरुद्ध भएको भन्दै तत्काल सत्ताबाट बाहिरिनुपर्ने प्रस्ताव राखेका थिए। उनले भदौ २३ गतेको घटनालाई “लोकतान्त्रिक राज्यमा परिकल्पना गर्न नसकिने प्रकारको दमन” भनेका छन्।

    यसैबीच, नेता शेखर कोइरालाले पनि वर्तमान सत्ता गठबन्धनको नैतिक, राजनीतिक र लोकतान्त्रिक औचित्य समाप्त भइसकेको तर्क गर्दै सरकारबाट बाहिरिनुपर्ने धारणा राखेका छन्। उनले सामाजिक सञ्जाल बन्द गर्नु, जनतामाथि बल प्रयोग गर्नु जस्ता कार्यहरूलाई “अधिनायकवादी” प्रवृत्तिको संज्ञा दिएका छन्।

    images
    images

    कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको खुला विरोध गरेका छन्। थापाले बैठकमा एमाले सँगको सहकार्य पुनः मूल्याङ्कन गर्नुपर्ने बताएका छन्। सरकारले सुशासन दिन सकेन, बरु लोकतान्त्रिक मूल्यमै प्रहार गर्‍यो, उनको भनाइ थियो।

    शर्माले भने, प्रधानमन्त्रीले बारम्बार कांग्रेसको निर्णय र आग्रहलाई पन्छाउँदै आउनु गम्भीर विषय हो। यस विषयमा भदौ २४ गते थप निर्णय गरिनेछ।

    सामाजिक सञ्जाल बन्दको निर्णय फिर्ता लिन कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीलाई फोन मार्फत आग्रह गरेका थिए। मन्त्रिपरिषद् बैठकमा कांग्रेसका तर्फबाट मन्त्री प्रदीप पौडेलले समेत सामाजिक सञ्जाल खोल्न सुझाव दिएका थिए। तर, प्रधानमन्त्री ओलीले उक्त आग्रह अस्वीकार गर्दै सामाजिक सञ्जाल नियमन बिना खोल्न नसकिने अडान दोहोर्‍याएका छन्।

    प्रधानमन्त्रीको अडान, सामाजिक सञ्जाल बन्द, जेन जी आन्दोलनको दमन, र सत्ता साझेदारको निर्णयलाई बेवास्ता गर्दै आएको व्यवहारले कांग्रेसभित्र आन्तरिक असन्तोष चुलिएको छ। टेक एण्ड पे नीति खारेज गर्ने कांग्रेस–एमाले सहमति समेत हालसम्म कार्यान्वयन नभएकोले कांग्रेस थप चिढिएको देखिन्छ।

    गृहमन्त्री रमेश लेखकले घटनापछि राजीनामा दिइसकेका छन्, तर यो दमनका क्रममा १९ जनाको मृत्यु भएपछि अब प्रधानमन्त्रीले समेत जिम्मेवारी लिनुपर्ने माग बढ्दो छ।

    वर्तमान सत्ता गठबन्धन भित्र गहिरो असन्तुलन देखिएको छ। अब भदौ २४ गते बस्ने कांग्रेस पदाधिकारी बैठकमा सरकारबाट बाहिरिने निर्णय सम्म पुग्ने सम्भावना उच्च देखिन्छ। यदि कांग्रेस सरकारबाट बाहिरियो भने ओली नेतृत्वको गठबन्धन सरकार ठूलो संकटमा पर्न सक्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend