काठमाडौँ । भदौ २४, काठमाडौँ महानगर क्षेत्र अन्तर्गत चक्रपथभित्र अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल जोशीले मंगलबार बिहान ८ः३० बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी गरेका हुन्।
प्रशासनले जारी गरेको सूचनामा बालकुमारी पुलदेखि वागमती नदी पुलसम्मको सम्पूर्ण चक्रपथ भित्र पर्ने भूभाग कर्फ्यूको दायरामा पर्ने उल्लेख गरिएको छ। यसमा कोटेश्वर, सिनामंगल, गौशाला, चावहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी र बल्खु लगायतका क्षेत्र समावेश छन्।
अत्यावश्यक सेवामा छूट
कर्फ्यूको अवधिभर निम्न सेवाहरूमा आवागमनका लागि छूट प्रदान गरिने प्रशासनले जनाएको छः
अत्यावश्यक सेवाका सवारीसाधन
एम्बुलेन्स, दमकल, शववाहन
स्वास्थ्यकर्मी तथा सञ्चारकर्मी
कुटनीतिक नियोग र मानव अधिकार संस्थाका सवारीसाधन
वैध हवाई टिकट भएका यात्रु (सुरक्षाकर्मीको सहजीकरणमा)
पर्यटक सवारीसाधन
जेनजी प्रदर्शनमा १७ जनाको मृत्यु
यसअघि जेनजीले काठमाडौंमा गरेको प्रदर्शन हिंसात्मक बनेपछि सोमबार मात्र १७ जनाको ज्यान गएको थियो। सोही घटनालाई ध्यानमा राख्दै सोमबार बानेश्वर क्षेत्रमा प्रारम्भिक रूपमा कर्फ्यू आदेश लागू गरिएको थियो।
लक्ष्मी बैंक परिसरमा सोमबार मध्यराति सम्मको लागि जारी गरिएको कर्फ्यू मंगलबार बिहान ५ः०० बजेसम्म कायम थियो। तर पछिल्लो सूचना सहित कर्फ्यूको क्षेत्र विस्तार गर्दै अनिश्चितकालीन रूपमा लागू गरिएको हो।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले नागरिकलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन र सुरक्षाकर्मीको निर्देशन पालना गर्न अनुरोध गरेको छ।





.gif)





