काठमाडौँ । भदौ २७, अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्तिका सम्बन्धमा राष्ट्रपति निवास शीतल निवासमा बिहीबार बिहान ९ः०० बजेका लागि तय भएको उच्चस्तरीय छलफल केही घण्टाका लागि सारिएको छ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार छलफलमा सहभागी राजनीतिक दल र आन्दोलनरत पक्षहरूले आ–आफ्नो आन्तरिक तयारी र परामर्श गर्नुपर्ने भएकाले बैठक सारिएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार राति अबेरसम्म प्रमुख दलका नेताहरू र आन्दोलनरत जेनजी पक्षसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। भेटमा दलहरूले संसद विघटन नगरी नै नयाँ प्रधानमन्त्री नियुक्त गर्नुपर्ने अडान दोहोर्याएका छन्, भने आन्दोलनरत पक्ष भने संसद विघटनको मागमा अडिग देखिएको छ।
यसैबीच, पछिल्लो छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री
बनाउने विषयमा दलहरू र आन्दोलनरत पक्षबीच प्रारम्भिक सहमति बनेको छ। तर, संविधान अनुसार संसदको सदस्य नभएको व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने प्रावधानका कारण आवश्यक विधि र प्रक्रिया तय गर्न थप समय लाग्ने देखिएको छ।
राजनीतिक दलहरू र आन्दोलनरत पक्षहरूबीच अन्तरिम सरकारको संरचना, कार्यकाल, र कार्यदिशाका विषयमा अझै स्पष्ट सहमति जुट्न बाँकी छ।




.gif)





