काठमाडौँ । असोज २५, काठमाडौँ जिल्ला प्रशासन कार्यालयले शनिबारका लागि विभिन्न समूहहरूद्वारा आयोजना गर्न लागिएको भनिएको मोटरसाइकल र्याली तथा सभा–प्रदर्शनहरूमा प्रतिबन्ध लगाएको छ।
प्रशासनले शुक्रबार जारी गरेको अत्यन्त जरुरी सूचनामा शनिबार काठमाडौँका फरक–फरक स्थानमा र्याली र सभा गर्ने तयारीबारे जानकारी प्राप्त भएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरू गर्न अनुमति नदिने निर्णय लिएको जनाएको हो।
गत भदौ २३ गतेको जेनजी आन्दोलनपछि काठमाडौँमा सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड, आगजनी तथा क्षति पुगेका घटनाहरू दोहोरिन सक्ने भन्दै सुरक्षा चुनौती बढ्न सक्ने सम्भावनाले प्रशासन सतर्क बनेको छ।
प्रशासनद्वारा जारी सूचनामा भनिएको छ, विभिन्न समूहहरूबाट हुने भनिएका र्याली, जुलुस, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरूले सुरक्षा चुनौती बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन थप जटिलता सिर्जना गर्न सक्ने भएकाले यस्तो निर्णय गरिएको हो।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३क) र प्रहरी ऐन २०१२ को दफा १९ अनुसार यस्तो निर्णय लिएको स्पष्ट गरिएको छ।काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलद्वारा हस्ताक्षरित सूचनामा पूर्व स्वीकृति विना कुनै पनि प्रकारका र्याली, सभा वा प्रदर्शन नगर्न र नगराउन सबैलाई सचेत गराइएको छ।





.gif)





