काठमाडौँ । कात्तिक ६, विश्वकै दुर्लभ वन्यजन्तु हिउँचितुवाको संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्य सहित हरेक वर्ष अक्टोबर २३ मा ‘ अन्तर्राष्ट्रिय हिउँचितुवा दिवस’ मनाइन्छ। यस वर्ष ‘मौन संरक्षकहरूको सुरक्षा गर्दै’ भन्ने नाराका साथ विश्वभर यो दिवस मनाइएको छ।
नेपाल सहित विश्वका १२ देशमा मात्र पाइने हिउँचितुवा स्वच्छ हिमाली वातावरणको सूचक मानिन्छ। हिउँचितुवा नेपाल, अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, किर्गिस्तान, भारत, मङ्गोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्बेकिस्तानमा पाइन्छ।
वन तथा वातावरण मन्त्रालयका तथ्याङ्क अनुसार नेपालमा हाल ३९७ हिउँचितुवा छन्। विश्वको जम्मा दुई प्रतिशत मात्र बासस्थान भएको नेपालमा १० प्रतिशत हिउँचितुवा पाइएको छ। नेपालका उच्च हिमाली क्षेत्रका करिब ३० हजार ५०० वर्गकिलोमिटर क्षेत्र यसको बासस्थानका रूपमा चिनिएका छन्। विश्वमा करिब ४ हजारदेखि ७ हजारसम्म हिउँचितुवा रहेको अनुमान छ।
चीनमा २,५००, मङ्गोलियामा ९५३, भारतमा ७१८, नेपालमा ३९७ र भुटानमा १३४ हिउँचितुवा भएको तथ्याङ्कले देखाएको छ। संरक्षणका प्रमुख चुनौतीहरूमा बासस्थानको ह्रास, आहार प्रजातिको कमी, चोरी–शिकारी र गैरकानुनी व्यापार मुख्य हुन्।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.बुद्धिसागर पौडेलका अनुसार बासस्थान र आहाराको गुणस्तरमा कमी आउनु हिउँचितुवाको प्रमुख चुनौती हो। “जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा ठूलो असर पु¥याएको छ, जसको प्रत्यक्ष प्रभाव हिउँचितुवाको बासस्थानमा परेको छ,” उहाँले भन्नुभयो।
हिउँचितुवा सामान्यतया समुद्री सतहदेखि ५४० मिटरदेखि ५,००० मिटर उचाइसम्म पाइन्छ। यस प्रजातिलाई आइयुसिएनले विश्वव्यापी जोखिममा परेको ‘रातो सूची’ मा राखेको छ। यसलाई हिमालकी रानी पनि भनिन्छ।
राष्ट्रिय प्रकृति संरक्षण कोषले हिउँचितुवासँग स्थानीय समुदाय बीचको द्वन्द्व घटाउन सुरक्षित खोर निर्माण र जनचेतना मूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। कोषका सदस्य–सचिव डा.नरेश सुवेदीका अनुसार “मनाङ, मनास्लु, गौरीशङ्कर र अन्नपूर्ण क्षेत्रमा क्यामेरा ट्रयाप मार्फत नियमित अनुगमन हुँदै आएको” छ।
वन मन्त्रालयले ‘हिउँचितुवा संरक्षण कार्ययोजना २०२४–२०३०’ लागू गरेर संरक्षण कार्यलाई प्राथमिकतामा राखेको छ। तथ्याङ्क अनुसार नेपालका पश्चिमी हिमाली क्षेत्रमा पूर्वको तुलनामा बढी हिउँचितुवा पाइन्छ।
विश्व वन्यजन्तु कोष नेपालका राष्ट्रिय प्रतिनिधि डा.घनश्याम गुरुङका अनुसार डब्लुडब्लुएफले मन्त्रालय सँग सहकार्य गरी बासस्थान अनुगमन, समुदाय संलग्नता र सीमापार समन्वयका कार्यक्रम सञ्चालन गरिरहेको छ।
सन् २०२१ मा डब्लुडब्लुएफले प्रकाशित प्रतिवेदन अनुसार विश्वव्यापी हिउँचितुवाको क्षेत्रफल मध्ये २३ प्रतिशत मात्र व्यवस्थित रूपमा अध्ययन गरिएको छ, र तीन प्रतिशत भन्दा कम क्षेत्रमा मात्र सङ्ख्याबारे प्रत्यक्ष तथ्याङ्क उपलब्ध छन्।
नेपालको कञ्चनजङ्घामा देखिएको एक हिउँचितुवा आहारको खोजीमा भारत हुँदै भुटानसम्म पुगेको तथ्याङ्क पनि मन्त्रालयले उल्लेख गरेको छ। विज्ञहरूका अनुसार हिउँचितुवाको प्रभावकारी संरक्षणका लागि क्षेत्रीय, द्विपक्षीय र अन्तर्राष्ट्रिय समन्वय अनिवार्य छ।




.gif)





