काठमाडौँ । कात्तिक ८, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा अपार सम्भावना र अवसरहरू रहेको बताएका छन्। उनले नेपालको आर्थिक भविष्यबारे निराशावादी दृष्टिकोण भन्दा पनि सकारात्मक सोचका साथ लगानी र काम गर्नुपर्नेमा जोड दिएका छन्।
शनिबार अमेरिकाको टेक्ससमा आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै अध्यक्ष ढकालले भने,
“नेपालमा सम्भावना नै छैन, पुँजीले केही हुँदैन भन्ने कुरा म मान्दिनँ। मैले जति देश हेरेँ, नेपालजस्तो अवसर कतै देखिनँ। यहाँ त अझ धेरै क्षेत्रहरू एक्स्प्लोर गर्न बाँकी छन्।”
उनका अनुसार नेपालमा अझै धेरै क्षेत्रहरूमा लगानीका अवसरहरू पहिचान हुन बाँकी छन् र ती अवसरहरूलाई वास्तविकतामा रूपान्तरण गर्न निजी क्षेत्र, सरकार र प्रवासी नेपालीहरूबीच सहकार्य आवश्यक छ।
अध्यक्ष ढकालले थपे, “नेपालमा लगानीमैत्री वातावरण बनाउनका लागि नेपाल उद्योग वाणिज्य महासंघको पहलमा करिब ३० वटा कानुन संशोधन भएका छन्। सरकारद्वारा गठित उच्चस्तरीय आर्थिक सुधार आयोगका सुझावहरूको कार्यान्वयन पनि सुरु भइसकेको छ।”
नेपालमा वैदेशिक लगानी प्रवर्द्धनका लागि महासंघले एफडिआइ हेल्प डेस्क स्थापना गरेको जानकारी दिँदै उनले अमेरिकामा रहेका नेपाली तथा विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरे।
उनले हालै स्वदेशी व्यवसायी र गैरआवासीय नेपालीहरूको सहभागितामा १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडिपी) स्थापना गरिएको उल्लेख गर्दै यसले ठूला लगानी परियोजनाहरूमा घरेलु पुँजी परिचालन गर्न सकिने सम्भावना प्रमाणित गर्ने बताए।
निजी क्षेत्रमाथि हालै भएका आक्रमण सम्बन्धी प्रश्नमा अध्यक्ष ढकालले असन्तुष्टि व्यक्त गर्दै भने,
“निजी क्षेत्र देशको कुल अर्थतन्त्रमा ८१ प्रतिशत योगदान र ८६ प्रतिशत रोजगारी दिने क्षेत्र हो। यस्तो क्षेत्रमाथिको आक्रमण अत्यन्त गलत सन्देश हो र हतोत्साही बनाउने काम हो।”
उनका अनुसार निजी क्षेत्रलाई नाफामात्र खोज्ने रूपमा चित्रण गर्ने गलत मानसिकता बदल्न जरुरी छ।
“यदि निजी क्षेत्रप्रति यस्तो सोच परिवर्तन हुन सकेन भने भविष्यमा यस्ता दुर्घटनाहरू दोहोरिन सक्छन्,” उनले चेतावनी दिए।




.gif)





