काठमाडौँ । कात्तिक १०, राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपाली समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिक लगायत सबै प्रकारका विभेद अन्त्य गर्न र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ।
छठ पर्व–२०८२ का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो, “यस पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरिति एवं विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु।”

उहाँले छठ पर्वले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि पनि सहयोग पुग्ने उल्लेख गर्नुभयो।
छठ पर्वमा सूर्य, जल र पृथ्वीप्रति श्रद्धा अर्पण गर्दै छठी माताको पूजा, अर्चना र व्रत गरी खोला, पोखरी तथा तालतलैयाको किनारमा जाग्राम बसी धुमधामका साथ पर्व मनाउने परम्परा रहँदै आएको छ।
जनविश्वास अनुसार, छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोकामना पूरा हुने, परिवारको कल्याण हुने र दुःखकष्ट हट्ने विश्वास गरिन्छ।
राष्ट्रपति पौडेलले थप भन्नुभयो, “सूर्यविना पृथ्वीमा जीवन सम्भव नरहने सन्दर्भलाई आत्मसात् गर्दै तन, मन लगाएर कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म जलाशय किनारमा रही अस्ताउँदो र उदाउँदो सूर्यलाई दूधको अर्घ्य दिएर पूजा आराधना गर्ने यस पर्वले मानिसलाई प्रकृति प्रतिको दायित्व, पर्यावरणीय चेतना तथा पारिवारिक र सामाजिक ऐक्यबद्धता प्रकट गर्न प्रेरित गर्दछ।”




.gif)





