काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले वातावरण प्रदूषण नियन्त्रण अभियान अन्तर्गत धुवाँ फाल्दै सडकमा गुड्ने सवारीसाधनहरूलाई नियन्त्रणमा लिन थालेको छ।

सोमबार कार्यालयले विभिन्न स्थानमा गरिएको विशेष चेकिङका क्रममा ३७ वटा सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ। तीमध्ये १६ वटा भाडाका बस, १४ पिकअप भ्यान, चार स्कुल बस, दुई निजी कार र एक भाडाका कार रहेका छन्।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार, “अत्यधिक धुवाँ फाल्ने तथा सवारी जाँचपास नभएका सवारीसाधनलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार ‘अवस्था ठिक नभएको सवारीसाधन सञ्चालन’ गरेको अभियोगमा कारबाही गरिनेछ।”
ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले भने, “धुवाँ फाल्ने सवारीसाधनले वायु प्रदूषण बढाउँछ, जसले सर्वसाधारणको स्वास्थ्यमा प्रत्यक्ष असर पार्छ। साथै, मर्मत नभएका गाडी चलाउँदा दुर्घटनाको जोखिम पनि उच्च हुन्छ, त्यसैले सवारीलाई दुरुस्त अवस्थामा मात्र सञ्चालन गर्न आग्रह गर्दछौं।”
उनका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधन मर्मतपछि र तोकिएको जरिवाना तिरेपछि मात्र फिर्ता दिइने छन्।
ट्राफिक प्रहरीले पछिल्ला दिनमा वायु प्रदूषण नियन्त्रणलाई प्राथमिकता दिँदै पुराना पेट्रोल र डिजेल सवारीसाधनको अनुगमन, सवारी जाँचपास, बिमा नवीकरण तथा चालक सचेतना अभियान सञ्चालन गरिरहेको छ।
वातावरणविद्हरूका अनुसार उपत्यकामा वायु प्रदूषणका प्रमुख कारणमध्ये पुराना र धुवाँ फाल्ने सवारीसाधन प्रमुख हुन्। यसले विशेष गरी बालबालिका, वृद्धवृद्धा र दमका बिरामीहरूमा स्वास्थ्य समस्या बढाउने गरेको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले आगामी दिनमा मोबाइल इमिसन टेस्ट युनिट थप गरेर धुवाँ परीक्षणलाई अझ प्रभावकारी बनाउन तयारी गरेको जनाएको छ। साथै, यस्ता चेकिङ अभियानलाई निरन्तरता दिँदै नियम विपरीत सञ्चालनमा रहेका सवारीसाधन माथि थप कडाइ गरिने पनि जनाएको छ।




.gif)





