जापानले चीनको भ्रमण गर्नुअघि सुरक्षा सतर्कता अपनाउन आफ्ना नागरिकलाई आग्रह गरेको छ । चीनस्थित जापानी दूतावासले जापानी नागरिकहरूका लागि एक सेक्युरिटी एड्भाइजरी जारी गरेको छ । एड्भाइजरीमा आगामी साता आउन लागेको नानजिङ नरसंहारको स्मृति दिवस अत्यन्त संवेदनशील मानिने भएकाले विशेष सतर्कता अपनाउन दूतावासले आग्रह गरेको हो ।गत महिना जापानी प्रधानमन्त्री सानाए ताकाइचीले संसदमा गरेको एक सम्बोधनका क्रममा चीनले ताइवानमाथि आक्रमण गरेमा टोकियोले सैन्य प्रतिक्रिया दिन सक्ने बताए पनि दुई देशबीच तनाव चुलिएको छ ।
यही क्रममा चीनले जापान जाने यात्रुलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेसँगै चीनबाट जापान जाने हजारौँ यात्रुले एकसाथ यात्रा रद्द गरेका थिए । दुई देशबीच तनाव साम्य नभइरहेको बेला जापानी दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जापान–चीनबीचका ऐतिहासिक मुद्दासँग सम्बन्धित दिनहरूमा चीनमा विरोधी–जापानी भावना बढ्ने सम्भावना हुन्छ । पछिल्ला स्थानीय रिपोर्टिङले दुवै देशबीचको सम्बन्धलाई लिएर संवेदनशीलता बढाएकाले विशेष सतर्कता आवश्यक छ ।’
सन् १९३७ मा नानजिङमा जापानी सैनिकद्वारा गरिएका नरसंहारमा लाखौँ चिनियाँ सर्वसाधारण मारिएका थिए, जसका कारण आज पनि चीनमा जापानीप्रति घृणाभाव पाइन्छ । विज्ञप्तिमा चीनमा बसोबास वा यात्रा गरिरहेकाहरूलाई वरपरको अवस्था ध्यानपूर्वक अवलोकन गर्न तथा बाहिर निस्कँदा सम्भव भएसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।




.gif)





