images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • अत्यधिक चिसो बढ्दै गएपछि माथिल्लो मुस्ताङको...

अत्यधिक चिसो बढ्दै गएपछि माथिल्लो मुस्ताङको जनजीवन अत्यन्त कष्टकर बन्दै, धेरै स्थानीय बेसी झर्न बाध्य

अत्यधिक चिसो बढ्दै गएपछि माथिल्लो मुस्ताङको जनजीवन अत्यन्त कष्टकर बन्दै, धेरै स्थानीय बेसी झर्न बाध्य

images
images
शनिवार, मंसिर २० २०८२
शनिवार, मंसिर २० २०८२
  • काठमाडौँ, मंसिर २० । अत्यधिक चिसो बढ्दै गएपछि माथिल्लो मुस्ताङको जनजीवन अत्यन्त कष्टकर बन्दै गएको छ। दिउँसो केही समय घाम लागे पनि बिहान–बेलुकाको कठ्यांग्रिँदो चिसोले स्थानीयबासी, सुरक्षा निकाय तथा सरुवा भएका कर्मचारीको दैनन्दिन जीवन प्रभावित बनेको छ।

    images
    images

    लोमान्थाङ–२ छोसेका वडाध्यक्ष कर्मा नाम्गेल गुरुङका अनुसार तापक्रम बिहान–बेलुका माइनस १५ डिग्री सेल्सियससम्म झर्ने गरेको छ। चिसोका कारण सिँचाइ कुलो, घर–घरका धारो, शौचालयका ट्याङ्की र साना नदी–खोल्सामासमेत हिउँ जम्ने गरेका छन्। “धाराबाट पानी झर्दैन, घाम लाग्दा कुलाको पानी तताएर मात्र प्रयोग गर्नुपर्ने अवस्था हो,” वडाध्यक्ष गुरुङले बताए।

    बेसी झर्ने चलन यस वर्ष कात्तिकमै सुरु भएको छ। वडाध्यक्ष गुरुङका अनुसार गत वर्ष नाका बन्द भएकाले सबै नागरिक बेसी झरेका थिए, तर यस वर्ष नाका खुलेर व्यापार चलिरहेका कारण झन्डै ३०० नागरिक अझै माथिल्लो क्षेत्रमा रहेका छन्।

    images
    images

    पर्यटन व्यवसायमा पनि चिसोको सिधा असर परेको छ। लोमान्थाङमा सञ्चालनमा रहेका करिब दुई दर्जन होटलमध्ये दुई तिहाइ बन्द भइसकेका छन्। “स्थानीय र होटल व्यवसायी जाडो छल्न बेसी झर्दै छन्। चिसो बढेसँगै बाँकी होटल पनि एक–एक गर्दै बन्द हुँदैछन्,” पर्यटन व्यवसायी राम गुरुङले बताए।

    चिसोका कारण विकास निर्माणका काम ठप्प भएका छन्। लोमान्थाङका वडाध्यक्ष ढुक्के विष्टका अनुसार सिँचाइ कुलो जमेर घाम लाग्दा पानी एकैपटक बग्ने जोखिम भएकाले मुहान नै बन्द गरिएको छ।

    यद्यपि अत्यधिक चिसो बढेपनि माथिल्लो क्षेत्रका प्रहरी एकाइ भने बेसीमा झर्ने छैनन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार नाका र भन्सार सञ्चालनमा भएको कारण सुरक्षा निकाय आवश्यक प्रहरी तैनाथमै रहनेछ। “भारी हिमपातजस्ता विषम परिस्थिति बाहेक चिसोकै कारण प्रहरी एकाइ तल झार्ने योजना छैन,” बस्यालले बताए।

    अत्यधिक चिसोले दैनिक जनजीवन मात्र होइन, स्थानीय अर्थतन्त्र र पर्यटन गतिविधिमा पनि प्रत्यक्ष असर पार्दै गएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend