काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनअघि नै राजनीतिक दल र नागरिक शक्तिबीच न्यूनतम राष्ट्रिय समझदारी आवश्यक रहेको बताएका छन्। जेनजी मुभमेन्टसँग आबद्ध युवा तथा विभिन्न नागरिक समूहसँग भएका छलफलका अनुभव बिहीबार भिडियो मार्फत सार्वजनिक गर्दै उनले इतिहासले पनि चुनावअघि सहमतिको आवश्यकता पुष्टि गरिसकेको दाबी गरे।
थापाले जेनजी मुभमेन्टमा सक्रिय युवासँग समूहगत तथा व्यक्तिगत भेटघाटका क्रममा उठेका विषयहरू आफूले नयाँ र पुराना सबै राजनीतिक दलका नेताहरूसँग साझा गर्दै आएको बताए। केही समयअघि प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा समेत उक्त मुभमेन्टसँग आबद्ध युवाहरू सहभागी भएको स्मरण पनि उनले गराए।
उनले २०६२–६३ को जनआन्दोलन अघि नेपाल यस्तै राजनीतिक अवस्थाबाट गुज्रिएको उल्लेख गर्दै त्यसबेला संसद् पुनःस्थापनाको मागसहित सडक आन्दोलन भए पनि अन्ततः राजनीतिक दलहरूबीच समझदारी बनेको बताए। सोही समझदारीका आधारमा संसद् पुनःस्थापना भई पहिलो बैठकबाट ऐतिहासिक घोषणा भएको उनको भनाइ छ।
‘त्यो घोषणा औपचारिक मात्र थिएन,’ थापाले भने, ‘समानुपातिक प्रतिनिधित्व, समावेशी लोकतन्त्र र नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक चरित्रलाई राज्य संरचनामा प्रतिबिम्बित गर्ने स्पष्ट प्रतिबद्धता त्यसमा थियो।’
महामन्त्री थापाका अनुसार उक्त घोषणाकै निरन्तरताबाट अन्तरिम संविधान बनेको हो र अन्तरिम संविधान हुँदै वर्तमान संविधानसम्म समेटिएका प्रगतिशील विषयहरूको जरो त्यही घोषणासँग जोडिएको छ।
वर्तमान सन्दर्भमा पनि पार्टीगत सीमाभन्दा माथि उठेर सोच्न सक्ने नागरिक नेता, अगुवा र सचेत व्यक्तिहरूको भूमिका महत्वपूर्ण रहेको उनले बताए। पुरानो पुस्ताका अनुभवी नागरिक अगुवासँगै नयाँ पुस्ताका ऊर्जाशील र सचेत युवाहरू पनि यस प्रक्रियामा सहभागी हुनुपर्ने उनको धारणा छ।
राजनीतिक प्रतिस्पर्धा स्वाभाविक भए पनि त्यसलाई मात्र सबैथोक बनाउनु नहुने भन्दै थापाले पार्टीभन्दा बाहिर रहेर साझा राष्ट्रिय एजेन्डामा केन्द्रित संवाद र सहकार्यको आवश्यकता औंल्याए।
उनले सेप्टेम्बर ८ र ९ मा सार्वजनिक रूपमा उठाइएका सुशासन, भ्रष्टाचार नियन्त्रण र संस्थागत सुधारका एजेन्डालाई केन्द्रमा राख्दै फरक–फरक राजनीतिक दललाई एउटै मञ्चमा ल्याई राउन्ड टेबल संवाद तथा राष्ट्रिय संवाद सुरु गर्नुपर्ने आवश्यकता रहेको बताए।
‘२०४२।४३ को आन्दोलनअघि जस्तै चुनावअघि न्यूनतम समझदारी बनाऔँ,’ थापाले भने, ‘संविधान संशोधन, निर्वाचन प्रणाली सुधार, सुशासन र संस्थागत सुधारजस्ता ठूला विषयमा दल र नागरिक शक्तिबीच सहमति अपरिहार्य छ।’
सोही उद्देश्यका साथ आफूले जेनजी मुभमेन्टसँग आबद्ध युवाहरूलाई विचार र संवादमार्फत छलफलमा आउन आह्वान गरेको भन्दै थापाले आवश्यक परे यसलाई व्यापक राष्ट्रिय संवादमा विस्तार गरिने बताए।




.gif)





