काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपालले भारत र बंगलादेशमा १८ अर्ब २६ करोड ७० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ।नेपाल विद्युत् प्राधिकरणका अनुसार साउनदेखि मंसिरसम्म कुल २ हजार ७१४ गिगावाट आवर विद्युत् निर्यात भएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८ प्रतिशतले बढी हो। गत आवको पहिलो पाँच महिनामा १३ अर्ब २३ करोड ६७ लाख रुपैयाँ बराबरको विद्युत् निर्यात भएको थियो।
तर सुक्खायाम सुरु भएसँगै आन्तरिक उत्पादन घट्दा निर्यात क्रमशः सीमित हुँदै गएको छ। मंसिरपछि आयात सुरु भइसकेको छ भने पुस लागेसँगै विद्युत् निर्यात आंशिक रूपमा मात्रै भइरहेको छ। हाल भारतबाट चार सय मेगावाटसम्म विद्युत् आयात भइरहेको छ।गत वर्ष पनि सुक्खायामका कारण पुसको पहिलो साताबाट विद्युत् निर्यात स्थगन गरेर आयात सुरु गरिएको थियो। यो वर्ष पनि सोही प्रवृत्ति दोहोरिने संकेत देखिएको छ।
विद्युत् निर्यात बढेको समयमा भारततर्फ १२ सय मेगावाटसम्म र बंगलादेशतर्फ सम्झौताअनुसार ४० मेगावाट विद्युत् आपूर्ति गरिएको थियो। बंगलादेशसँग भएको सम्झौताअनुसार असार १ देखि कात्तिक ३० गतेसम्म ४० मेगावाट विद्युत् निर्बाध रूपमा निर्यात गरिएको हो।यस अवधिमा बंगलादेशमा १४७.४३ गिगावाट आवर विद्युत् निर्यात हुँदा ९४ लाख ३६ हजार अमेरिकी डलर आम्दानी भएको छ। प्रतियुनिट ६.४० सेन्टका दरले विद्युत् बिक्री गरिएको थियो। यो रकमसहित मंसिरसम्मको कुल विद्युत् निर्यात आम्दानी १८ अर्ब २६ करोड ७० लाख रुपैयाँ पुगेको छ।
नेपालका अधिकांश जलविद्युत् आयोजना नदीप्रवाहमा आधारित भएकाले वर्षायाममा उत्पादन बढी र हिउँदमा उत्पादन घट्ने संरचनात्मक समस्या देखिन्छ। वर्षायाममा निर्यात सम्भव भए पनि हिउँदमा आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था रहने गरेको छ।हाल आन्तरिक विद्युत् माग २१ सयदेखि २२ सय मेगावाटसम्म रहेको छ भने उत्पादन करिब २ हजार मेगावाट हाराहारीमा सीमित छ। उत्पादन थप घट्दै गए आगामी दिनमा विद्युत् निर्यात पूर्ण रूपमा रोकिने र आयात निरन्तर रहने सम्भावना रहेको छ।यसैबीच, बंगलादेशसँग भएको सहमतिअनुसार आगामी दिनमा थप २० मेगावाट विद्युत् निर्यात कार्यान्वयनमा आएपछि नेपालबाट बंगलादेशतर्फ कुल ६० मेगावाट विद्युत् निर्यात हुनसक्नेछ।




.gif)





