काठमाडौं । गृह मन्त्रालयले तराई तथा मधेशका केही जिल्लामा धार्मिक तथा सामाजिक सद्भाव खलबलिने गरी भएका घटनाप्रति ध्यानाकर्षण जनाउँदै देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई १० बुँदे निर्देशनात्मक सर्कुलर जारी गरेको छ।
मंगलबार गृह मन्त्रालयकी उपसचिव तथा सूचना अधिकारी रमा आचार्य सुवेदीद्वारा जारी निर्देशनमा प्रमुख जिल्ला अधिकारीहरूलाई कानुनले निषेध गरेका गैरकानुनी गतिविधिमा संलग्न जो कोहीलाई तत्काल कानुनी दायरामा ल्याई कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ।
सर्कुलरमा धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भाव र सहिष्णुता प्रवर्द्धन गर्न सरोकारवालासहित समन्वय बैठक आयोजना गर्न भनिएको छ। यसका लागि जिल्लास्थित राजनीतिक दलका प्रमुख, सामाजिक, सांस्कृतिक तथा धार्मिक क्षेत्रका अगुवाहरूलाई सद्भाव कायम गर्न सार्वजनिक आह्वान गर्न निर्देशन दिइएको छ।
सबै पक्षको सहभागितामा सद्भाव र्याली आयोजना गरी यस्ता घटनाहरू दोहोरिन नदिने व्यवस्था मिलाउन र सीमा क्षेत्रमा हुने आवागमनमा कडाइका साथ चेकजाँच गर्न पनि निर्देशन दिइएको छ।
स्थानीय तहमा सञ्चार माध्यममार्फत स्थानीय भाषामा सामाजिक सद्भाव प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालन गर्न तथा प्रदेश र स्थानीय तहबीच समन्वयात्मक तथा प्रवर्द्धनात्मक कार्यक्रमहरूमा जोड दिन भनिएको छ।
त्यस्तै प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय जिल्ला शान्ति तथा सामाजिक सद्भाव समिति गठन गरी क्रियाशील बनाउने व्यवस्था गरिएको छ। समितिमा जिल्ला सुरक्षा समितिका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य महासंघ, पत्रकार महासङ्घ, नेपाल बार एसोसिएसन, जिल्ला समन्वय समितिका प्रतिनिधि तथा सामाजिक, सांस्कृतिक र धार्मिक क्षेत्रका अगुवाहरू रहनेछन्।
साथै विगतका वर्षहरूमा भएका घटनाहरूको अभिलेखका आधारमा विवाद हुन सक्ने सम्भावित कार्यक्रम तथा पर्वहरूको सूची तयार गरी वार्षिक क्यालेन्डर निर्माण गर्नसमेत निर्देशन दिइएको छ।




.gif)





