काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका प्रहरी कर्मचारीहरूलाई इमानदारिता, पारदर्शिता र उच्च कर्तव्यनिष्ठाका साथ कार्यसम्पादन गर्न निर्देशन दिएका छन्।
प्रहरी प्रधान कार्यालय, नक्सालमा बुधबार आयोजित कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालमा कार्यरत रही उत्कृष्ट कार्यसम्पादन गरी पुरस्कृत भएका प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै उनले राष्ट्र र सङ्गठनप्रति थप जिम्मेवार भई काम गर्न आग्रह गरे।
महानिरीक्षक कार्कीले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै आयोगमा खटिएका प्रहरी कर्मचारीहरूले निर्वाह गरेको जिम्मेवारी प्रशंसनीय रहेको बताए। उनले अनुसन्धानमा व्यावसायिक दक्षता, लगनशीलता र निष्ठाले नेपाल प्रहरी सङ्गठनको गरिमा अझ उँचो बनाएको धारणा राखे।
“आफ्नो व्यावसायिक ज्ञान, सीप र अनुभवको उच्चतम प्रयोग गर्दै अनुसन्धान क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्न सफल हुनुभएका सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई नेपाल प्रहरी सङ्गठनको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछु,” उनले भने, “आगामी दिनमा अझ बढी जिम्मेवार, इमानदार र कर्तव्यनिष्ठ भई राष्ट्र र जनताको सेवामा समर्पित रहनु हुनेछ भन्ने विश्वास लिएको छु।”
उनले भ्रष्टाचारविरुद्धको अभियानलाई प्रभावकारी बनाउन अनुसन्धान कार्यलाई प्रमाणमुखी, तथ्यपरक र निष्पक्ष बनाउनुपर्ने आवश्यकता औँल्याए। साथै अनुसन्धानमा संलग्न कर्मचारीहरूले कानुनी प्रक्रिया, मानवअधिकारको सम्मान र पेशागत आचारसंहितालाई विशेष ध्यान दिनुपर्नेमा जोड दिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसको अवसर पारेर आयोगमा कार्यरत ३५ जना प्रहरी कर्मचारीहरूलाई उत्कृष्ट कार्यसम्पादनका आधारमा सम्मान तथा पुरस्कृत गरिएको थियो। पुरस्कृत कर्मचारीहरूले विभिन्न जटिल तथा संवेदनशील मुद्दाहरूको अनुसन्धान सफलतापूर्वक सम्पन्न गरी भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको जनाइएको छ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो। नेपाल प्रहरीले पछिल्लो समय अनुसन्धान क्षमताको सुदृढीकरण, तालिम तथा स्रोतसाधन व्यवस्थापन मार्फत सङ्गठनलाई थप प्रभावकारी बनाउने अभियानलाई तीव्रता दिएको जनाएको छ।




.gif)





