काठमाडौँ । गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले विपद् व्यवस्थापन प्रभावकारी बनाउन स्थानीय तहलाई थप बलियो र जिम्मेवार बनाउनुपर्ने बताएका छन्।
अवलोकन तथा निरीक्षण भ्रमणका क्रममा आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय पुगेर उनले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भएकाले उनीहरूलाई जिम्मेवार बनाउँदै आवश्यक स्रोतसाधन उपलब्ध गराउनुपर्ने धारणा राखे। साथै, प्राविधिक सहयोग र आवश्यक समन्वय भने प्रदेश र संघ सरकारले गर्नुपर्ने उनले बताए।
गत साता सम्पन्न निर्वाचनका क्रममा मौसमको अवस्थाबारे चासो बढेका बेला जल तथा मौसम विज्ञान विभागले गरेको पूर्वानुमानले महत्वपूर्ण सहयोग गरेको उल्लेख गर्दै सचिव श्रेष्ठले पूर्वानुमानको विश्वसनीयताका आधारमा पूर्वतयारी र प्रतिकार्यलाई अझ सुदृढ बनाउनुपर्ने बताए।
सो अवसरमा प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले प्राधिकरणले हालसम्म गरेका काम, सामना गरिरहेका चुनौती तथा मन्त्रालयका अपेक्षाबारे प्रस्तुतीकरण गरेका थिए।
कार्यक्रमकै क्रममा सचिव श्रेष्ठले प्राधिकरणद्वारा तयार पारिएको ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन हाते पुस्तिका’ को विमोचन पनि गरेका थिए।




.gif)





