राँझा (बाँके), १ वैशाख । जिल्लाको खजुरामा रु सात लाख राशिको एमटी एरिना प्रथम खजुरा गोल्डकप प्रतियोगिता सुरु भएको छ । न्यू डाँफे स्पोट्र्स क्लबको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगिताका विजेताले नगद रु सात लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु चार लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
विजेता पुरस्कार खजुरावासी हाल अमेरिका निवासी लीलबहादुर थापाको सौजन्यमा प्रदान गरिने आयोेजक न्यू डाँफे स्पोट्र्स क्लबका अध्यक्ष बालाराम खत्रीले जानकारी दिनुभयो । प्रतियोगिताको औपचारिक उद्घाटन खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले गर्नुभएको थियो ।
खजुरा–४ डीगाउँस्थित मिनी रङ्गशालामा भएको प्रतियोगिताको उद्घाटन खेलमा सङ्कटा फुटबल क्लब, काठमाडौँलाई १–० ले पराजित गर्दै गोर्खा ब्वाइज स्पोट्र्स क्लब, बुटवल (रुपन्देही)ले विजयी सुरुआत गरेको छ । खेलको पहिलो हाफमै कप्तान नीराजन खत्रीले १३औँ मिनेटमा गरेको एकमात्र निर्णायक गोल खेलको परिणाम बन्न पुग्यो । गोर्खा ब्वाइजले सुरुदेखि आक्रामक खेल प्रदर्शन गर्दै सङ्कटा माथि दबाब सिर्जना गरेको थियो।
दोस्रो हाफमा सङ्कटा खेलमा फर्किने प्रयासमा देखिए पनि गोर्खा ब्वाइजको सुदृढ डिफेन्स तोड्न नसक्दा खेल १–० मै समाप्त भएको थियो । प्रतियोगितामा गोर्खा ब्वाइज स्पोर्टस् क्लब बुटवल, सङ्कटा स्पोट्र्स क्लब काठमाडौँ, आयोजक न्यू डाफे स्पोट्र्स क्लब बाँके, जेविएम फुटबल एकेडेमी लखनउ, काक्रेविहार क्लब सुर्खेत, फोर ब्रदर्श एफसी नवलपरासी, एपिएफ काठमाडौँ र नाइजेरियन जोन क्लब नाइजेरिया गरी आठ टोलीको सहभागिता छ ।




.gif)





