सप्तरी । मधेस प्रदेशमा विद्युत् सेवाको गुणस्तर सुधार गर्ने क्रममा सप्तरीमा नवनिर्मित सबस्टेशन सञ्चालनमा आएको छ।सप्तरीको खड्क नगरपालिकास्थित पनसेरामा निर्माण गरिएको ३३/११ केभी र ६/८ एमभीए क्षमताको सबस्टेशन सञ्चालन (चार्ज) गरिएको हो। सबस्टेशनसँगै १० किलोमिटर लामो ११ केभी उच्चदाब (एचटी) प्रसारण लाइनको निर्माण कार्य पनि सकिएको छ। नयाँ सबस्टेशन सञ्चालनमा आएसँगै खडक र सुरुंगा नगरपालिकाका कदमाहा, लालपट्टा, कल्याणपुर लगायतका क्षेत्रका करिब १५ हजार विद्युत् उपभोक्ताले प्रत्यक्ष लाभ पाउनेछन्।मधेसका धेरै ठाउँमा लामो समयदेखि कम भोल्टेज हुने, बारम्बार लाइन जाने र गुणस्तरीय विद्युत् नपाएको गुनासो आउने गरेको थियो। सबस्टेशन निर्माणपछि भोल्टेजको स्थिति सुधार हुने, अनावश्यक रूपमा लाइन काटिने समस्या घट्ने र भरपर्दो विद्युत् आपूर्ति हुने अपेक्षा गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, ‘हाम्रो लक्ष्य केवल विद्युत् उत्पादन बढाउनु मात्र होइन, उत्पादन भएको विद्युत् प्रत्येक घर, उद्योग र व्यवसायसम्म गुणस्तरीय रूपमा पुर्याउनु पनि हो ।’देशभर प्रसारण र वितरण पूर्वाधारलाई आधुनिक, सुरक्षित तथा विश्वसनीय बनाउने अभियान तीव्र रूपमा अघि बढाइएको मन्त्री श्रेष्ठले बताएका छन्। मधेस प्रदेशसहित देशभरका नागरिकलाई भरपर्दो विद्युत् सेवा उपलब्ध गराउने प्रतिबद्धता अटल रहेको उनको भनाइ छ।नागरिकका गुनासालाई परिणाममा रूपान्तरण गर्ने यात्रामा सरकार निरन्तर अघि बढिरहेको मन्त्री श्रेष्ठले उल्लेख गरेका छन्।




.gif)



