सप्तरी, १४ साउन । सप्तरीमा गत साउन १४ गते रातिदेखि जारी कर्फ्यु आदेश अझै कायम रहेको छ। जिल्ला प्रशासन कार्यालय राजबिराजले नागरिकको दैनिक आवश्यकतालाई ध्यानमा राख्दै आज बिहान ७ बजेदेखि ११ बजेसम्म अत्यावश्यक तथा दैनिक उपभोग्य सामग्रीको खरिद–बिक्रीका लागि कर्फ्यु खुकुलो पारेको जनाएको छ।
प्रशासनले तोकिएको समयपछि ११ बजेदेखि कर्फ्यु पूर्ण रूपमा लागू हुने भन्दै सबैलाई आदेशको पालना गर्न तथा शान्ति–सुरक्षा कायम राख्न आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनाअनुसार कर्फ्यु खुकुलो पारिएको अवधिमा पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला भई हुलदङ्गा, अशान्ति वा उच्छृङ्खल गतिविधिमा संलग्न भएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।
सुनसरीबाट सुरु भएको साम्प्रदायिक तनावको प्रभाव सप्तरीसम्म फैलिएको भन्दै प्रशासनले गत साउन १४ गतेदेखि जिल्लाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो। स्थानीय प्रशासनले सुरक्षा अवस्थाको निरन्तर मूल्याङ्कन गर्दै आवश्यकता अनुसार थप निर्णय लिने जनाएको छ।





.gif)





