काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टेकुस्थित लामो समयदेखि बन्द रहेको ‘फोहोरबाट ऊर्जा’ परियोजनालाई आगामी दुई महिनाभित्र पुनः सञ्चालनमा ल्याउने भएको छ। परियोजनाको पुनःस्थापना र दिगो सञ्चालनका लागि महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी) का कार्यकारी निर्देशक नवराज ढकालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । जसअनुसार आवश्यक वित्तीय स्रोत विश्व बैंकको ‘मिनी ग्रिड ऊर्जा पहुँच कार्यक्रम’ मार्फत व्यवस्थापन गरिनेछ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलबीच आयोजना चालु वर्षभित्रै सञ्चालन गर्ने तथा सडकबत्ती व्यवस्थापनबारे छलफल भइसकेको अवस्थामा, कार्यवाहक प्रमुख डङ्गोलले तोकिएकै समयमा काम सकिने विश्वास व्यक्त गर्दै भविष्यमा पनि एईपीसीसँगको सहकार्य निरन्तर रहने बताइन् ।
एईपीसीका कार्यकारी निर्देशक ढकालले परियोजना पुन: सञ्चालनका लागि आवश्यक तयारी पूरा भइरहेको जानकारी दिँदै विश्व बैंकको सहयोगबाट आवश्यक बजेट सुनिश्चित गरिएको बताए । आगामी दिनमा पनि फोहोरबाट ऊर्जा लगायतका नवीकरणीय ऊर्जा परियोजनामा महानगरसँग सहकार्यलाई निरन्तरता दिइने उनले बताए । समझदारीपत्रले परियोजनाको पुनर्निर्माण, सञ्चालन, हस्तान्तरण र दीर्घकालीन व्यवस्थापनका लागि दुवै पक्षको भूमिका र जिम्मेवारी स्पष्ट गरेको छ । युरोपियन युनियनको करिब १ करोड ८० लाख रुपैयाँ सहयोगमा निर्माण भएको उक्त परियोजना केही समय सञ्चालनमा आएपछि बन्द भएको थियो ।
एईपीसीका अनुसार विश्व बैंकको सहयोगमा सन् २०१४ देखि सञ्चालन भएको ‘नवीकरणीय ऊर्जा विस्तार कार्यक्रम–विस्तारित बायोग्यास आयोजना’ अन्तर्गत नगरपालिकाको फोहोरबाट ऊर्जा परियोजना र ठूला व्यावसायिक बायोग्यास प्लान्टमा सहयोग गर्दै आएको छ । हाल उक्त कार्यक्रम मिनी ग्रिड ऊर्जा पहुँच कार्यक्रमअन्तर्गत सञ्चालन भइरहेको छ । यसअन्तर्गत हालसम्म सात वटा नगरपालिकामा फोहोरबाट ऊर्जा परियोजना कार्यान्वयन भइसकेका छन् भने २० भन्दा बढी ठूला व्यावसायिक बायोग्यास परियोजनाले सहयोग प्राप्त गरेका छन् । केन्द्रले देशभर नगर फोहोरबाट ऊर्जा परियोजना र व्यावसायिक बायोग्यासको सम्भाव्यता अध्ययन गरिसकेको जनाएको छ । साथै हरित जलवायु कोषमा पेश गर्न ४८ मिलियन अमेरिकी डलर बराबरको परियोजना प्रस्ताव अर्थ मन्त्रालयको सहमतिको प्रक्रियामा रहेको र पेरिस सम्झौताको दफा ६.२ अन्तर्गत फोहोरबाट ऊर्जामा आधारित कार्बन परियोजना विकासको काम पनि अघि बढाइएको केन्द्रले जनाएको छ ।केन्द्रले संस्थागत, सामुदायिक तथा व्यावसायिक क्षेत्रका फोहोरबाट ऊर्जा उत्पादन गर्ने बायोग्यास परियोजनालाई प्रवर्द्धन गर्न साना, मझौला र ठूला बायोग्यास प्लान्ट निर्माणका लागि आशयपत्र आह्वान गरिसकेको जनाएको छ । काठमाडौं उपत्यकालगायत शहरी क्षेत्रमा कुहिने फोहोर व्यवस्थापनमा यस्ता परियोजनाले योगदान पुर्याउनुका साथै बायोग्यास र जैविक मल उत्पादनमार्फत चक्रीय अर्थतन्त्रलाई समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।




.gif)





