कास्की । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ भित्रै प्रदेशलाई ‘उज्यालो गण्डकी’ घोषणा गर्ने लक्ष्य लिएको छ।ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, फेवा ड्याम पोखराले मंगलबार एक सूचना प्रकाशित गर्दै प्रदेशभित्रका सबै घरधुरीमा विद्युत् सुविधा पुर्याउने कार्यक्रमलाई अघि बढाएको जानकारी दिएको छ।प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकको निर्णयानुसार ‘उज्यालो गण्डकी’ को नारा दिई निरन्तर ऊर्जासम्बन्धी कार्यक्रमहरू कार्यान्वयनमा रहँदै आएका छन्। यसै क्रममा प्रदेशको थप लगानीमा नेपाल विद्युत् प्राधिकरण, गण्डकी प्रादेशिक कार्यालय पोखरासँग सम्झौता गरी सञ्चालनमा रहेको विद्युत् विस्तार कार्यको भुक्तानी मन्त्रालयले फरफारक गरिसकेको छ। विद्युत् प्राधिकरणले विस्तारको कार्य निरन्तर गरिरहेको छ।
मन्त्रालयले मर्मत गरी सञ्चालन गर्न सकिने अवस्थामा रहेका लघु जलविद्युत् आयोजनाहरूको मर्मत सम्भार कार्य निरन्तर चलाइरहेको छ। यसका साथै केही स्थानीय तहहरूमा घरेलु सौर ऊर्जा जडान कार्यक्रमसमेत सञ्चालनमा रहेका छन्।विविध कार्यक्रम सञ्चालनमा रहे तापनि हालसम्म कम्तीमा बत्ती बाल्नसमेत विद्युत् सुविधा नपुगेका घरधुरी वा बस्ती भए मन्त्रालयले सम्पर्कमा आउन अनुरोध गरेको छ। सम्बन्धित स्थानीय तहमा सम्पर्क गरी स्थानीय तहको सिफारिससहित २०८३ भदौ मसान्तभित्र मन्त्रालयमा विवरण उपलब्ध गराई ‘उज्यालो गण्डकी’ अभियानलाई पूर्णता दिन सहयोग गर्न मन्त्रालयले आग्रह गरेको छ।





.gif)





