काठमाडौं । नेपालभर हाल मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तर नेपाल नजिक रहेको छ।
मनसुनी प्रणालीको प्रभावका कारण कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहेको छ। मधेश प्रदेशसहित गण्डकी र लुम्बिनीका तराई भूभागमा भने आंशिक बदली रहेको महाशाखाले जनाएको छ।
हाल कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थान, कर्णाली तथा सुदूरपश्चिमका थोरै स्थान र गण्डकी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश, कोशी, बागमती र गण्डकीका तराई भूभागका थोरै स्थानमा समेत चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।
त्यसैगरी बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेश, कोशी र बागमतीका तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्नेछ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा रातिको समयमा पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र सुरक्षित रहन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।




.gif)





