काठमाडौं। कालीकोटमा निर्माण हुन लागेको ४४० मेगावाट क्षमताको तिला–१ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन एनएमबि बैंकको नेतृत्वमा भएको छ। एससी पावर कम्पनी प्रालिले निर्माण गर्न लागेको आयोजनाका लागि बैंक तथा वित्तीय संस्थाले ४४ अर्ब ५५ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन्।आयोजनाको कुल अनुमानित लागत ५९ अर्ब ४० करोड रुपैयाँ रहेको छ। वित्तीय व्यवस्थापनमा एनएमबि बैंक अगुवा बैंकका रूपमा रहेको छ भने ग्लोबल आइएमई बैंक, हिमालयन बैंक र प्रभु बैंक सह–अगुवा बैंकका रूपमा सहभागी छन्। अन्य बैंक तथा वित्तीय संस्थाले पनि आयोजनामा सहभागी लगानीकर्ताका रूपमा ऋण लगानी गर्नेछन्।
वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा एनएमबि बैंकका सहायक महाप्रबन्धक दिनेश दुलाल र एससी पावर कम्पनीका अध्यक्ष सुसन कर्माचार्यले हस्ताक्षर गरेका छन्। निजी क्षेत्रको लगानी र नेतृत्वमा अघि बढाइएको तिला–१ जडित क्षमताका आधारमा हालसम्मकै ठूलो जलविद्युत आयोजना भएको बताइएको छ।आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्रअनुसार क्षमता ४४० मेगावाट छ। विद्युत् खरिद सम्झौता (पीपीए) अनुसार आयोजनाले २०८७ पुस १५ अर्थात् ३१ डिसेम्बर २०३० देखि व्यावसायिक उत्पादन सुरु गर्नुपर्नेछ। आयोजना सञ्चालनमा आएपछि पहिलो वर्ष करिब ११ अर्ब ४० करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।आयोजनाको प्रवर्द्धक एससी पावर कम्पनीको नेतृत्व सुसन कर्माचार्यसहितको समूहले गरिरहेको छ। वित्तीय व्यवस्थापनअघि आयोजनाको वातावरणीय, सामाजिक तथा सुशासनसम्बन्धी पक्षको अध्ययन र मूल्याङ्कनसमेत गरिएको बैंकले जनाएको छ।
एनएमबि बैंकका अनुसार बैंकले हालसम्म ५० भन्दा बढी जलविद्युत आयोजनामा लगानी गरिसकेको छ। बैंकले नेपाल राष्ट्र बैंकको वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिकाअनुसार वातावरणीय तथा सामाजिक पक्षको मूल्याङ्कन गर्दै दिगो र जिम्मेवार लगानीलाई प्राथमिकता दिँदै आएको जनाएको छ।हाल एनएमबि बैंकले देशभर १९७ शाखा, १७६ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ।




.gif)





