एन्टवर्प । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का उपाध्यक्ष (उद्योग तथा वाणिज्य) दिल सुन्दर श्रेष्ठको बेल्जियम भ्रमणका अवसरमा नेपाली व्यवसायी संघ बेल्जियम (नेबाब) ले नेपाली उत्पादनको प्रवर्द्धन, लगानी र व्यवसायका चुनौतीबारे अन्तरक्रिया गरेको छ।शनिबार एन्टवर्पमा आयोजित कार्यक्रममा बेल्जियमका विभिन्न सहरबाट नेपाली उद्यमी तथा व्यवसायीको उल्लेख्य सहभागिता थियो। कार्यक्रममा नेबाबका महासचिव रामचन्द्र सुवेदीले सञ्चालन तथा स्वागत गरेका थिए।नेबाबका अध्यक्ष कासी दनैले बेल्जियममा नेपाली व्यवसायीको अवस्था, व्यवसायका क्षेत्र तथा संस्थाका गतिविधिबारे जानकारी दिँदै यस्ता कार्यक्रमलाई औपचारिक भेटघाटमा मात्र सीमित गर्न नहुने बताए। बेल्जियमका नेपाली व्यवसायी, एफएनसीसीआई र नेपाल सरकारबीच सहकार्यको माध्यमका रूपमा यस्ता कार्यक्रमलाई अघि बढाउनुपर्ने उनको भनाइ थियो।
नेपाली व्यवसाय र उत्पादनसँग सम्बन्धित समस्या, लगानीका अवसर तथा निर्यात–आयातका चुनौतीलाई साझा रूपमा उठाउनुपर्नेमा दनैले जोड दिए। प्रवासी नेपालीको लगानी, अनुभव र अन्तर्राष्ट्रिय सञ्जाल नेपालका लागि ठूलो पुँजी भएको उल्लेख गर्दै उनले एफएनसीसीआईले विश्वभरका गैरआवासीय नेपाली व्यवसायीका एजेन्डालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताए।हालैको नेपाल भ्रमणमा उत्पादन क्षेत्रको अवलोकन गरेको प्रसंग उल्लेख गर्दै दनैले कफी, कपडालगायत नेपाली उत्पादनमा ठूलो सम्भावना रहेको बताए। आफ्नै उत्पादन र उद्योगलाई प्रवर्द्धन गर्दै नेपाली वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउनुपर्ने उनको भनाइ थियो।दनैले नेबाब र एफएनसीसीआईबीच औपचारिक सम्बन्ध स्थापना गरी सूचना, सम्पर्क तथा व्यावसायिक सिफारिसका लागि दुवैतर्फ एक–एक सम्पर्क बिन्दु तोक्नुपर्ने प्रस्ताव पनि राखे। विप्रेषणलाई उत्पादनमूलक लगानीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिँदै उनले प्रवासी नेपालीको पुँजी नेपालमा भित्र्याउन स्पष्ट लगानी मार्गचित्र र लगानी संरक्षणको प्रत्याभूति आवश्यक रहेको बताए।
युरोपेली बजारमा नेपाली उत्पादनका चुनौती
अन्तरक्रियामा सहभागी व्यवसायीहरूले नेपाली उत्पादन युरोपेली बजारमा प्रवेश गर्न नसक्नुका व्यावहारिक कारणबारे धारणा राखेका थिए।ब्रान्डको अभाव, उत्पादकको गम्भीरताको कमी, गुणस्तरमा अस्थिरता र आपूर्तिको निरन्तरता नहुनुलाई व्यवसायीहरूले प्रमुख समस्याका रूपमा औँल्याए। विशेषगरी नेपाली उत्पादनमा उत्पादन मिति र ‘बेस्ट बिफोर’ मिति उल्लेख नहुने समस्या उठाइएको थियो।युरोपेली संघलगायत अन्तर्राष्ट्रिय बजारमा आवश्यक विवरण अनिवार्य हुने भएकाले त्यसको अभावमा नेपाली उत्पादनलाई बजारमा प्रवेश गराउन कठिन हुने व्यवसायीहरूको भनाइ थियो। निर्यातका लागि आवश्यक कागजात, प्रमाणीकरण तथा अनिवार्य सूचना व्यवस्थापनमा स्पष्ट नियमको अभाव र सरकारी निकायबाट अपेक्षित सहयोग नपाइनुलाई पनि उनीहरूले प्रमुख अवरोधका रूपमा प्रस्तुत गरे।यी विषयमा एफएनसीसीआईमार्फत नेपाल सरकारसँग समन्वय गरी समाधान खोज्नुपर्ने व्यवसायीहरूले सुझाव दिए। साथै, गैरआवासीय नेपालीहरूले उठाउँदै आएको वंशजका आधारमा नेपाली नागरिकताको विषयलाई पनि महासंघमार्फत अघि बढाउनुपर्ने माग उनीहरूले राखे।
‘अब उत्पादन मात्र गरेर पुग्दैन’
एफएनसीसीआई उपाध्यक्ष दिल सुन्दर श्रेष्ठले नेपालमा लगानीको वातावरण क्रमशः सुधार हुँदै गएको बताए। नेपालमा लगानी सुरक्षित छ कि छैन, जग्गा किन्न सकिन्छ कि सकिँदैन र लगानीबाट प्राप्त रकम सहजै फिर्ता लैजान सकिन्छ कि सकिँदैन भन्ने विषयमा प्रवासी नेपालीमा जिज्ञासा हुने गरेको उल्लेख गर्दै उनले सरकारले यी विषयमा कानुनी व्यवस्था गरेको बताए।विशेषगरी गैरआवासीय नेपाली गरिकतासम्बन्धी व्यवस्थाले लगानी गर्न थप सहज बनाएको उनको भनाइ थियो।उत्पादन, प्याकेजिङ, ब्रान्डिङ र गुणस्तर मापदण्डमा सुधार भइरहेको उल्लेख गर्दै श्रेष्ठले भने, “अब केवल उत्पादन मात्र गरेर पुग्दैन। अन्तर्राष्ट्रिय बजारमा टिक्न गुणस्तर, आकर्षक प्याकेजिङ र बलियो ब्रान्ड निर्माण गर्नै पर्छ।”नयाँ सरकारले सुशासनलाई प्राथमिकता दिएकाले लगानीकर्ताको विश्वास बढ्ने अपेक्षा पनि उनले व्यक्त गरे।
आफ्नो व्यक्तिगत व्यवसायिक यात्राको प्रसंग उल्लेख गर्दै श्रेष्ठले आफू पनि सानैदेखि विदेशमा संघर्ष गर्दै आजको अवस्थामा पुगेको बताए। शून्यबाट सुरु गरेर निरन्तर मेहनत र इमानदारीका साथ व्यवसाय विस्तार गर्न सफल भएको र चुनौतीलाई अवसरमा बदल्दै अघि बढेको उनको भनाइ थियो।नेपालमै उत्पादन गरेर युरोपेली बजारमा निर्यात गरिरहेको उल्लेख गर्दै श्रेष्ठले नेपाली व्यवसायीले पनि अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरेर उत्पादनमा जोड दिनुपर्ने बताए।कृषि, पर्यटन, उत्पादन र जलविद्युत् क्षेत्रमा नेपालमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै उनले नेपाली लगानीकर्ता जलविद्युत् क्षेत्रमा आफैं सक्षम हुँदै गएको बताए। नेपाली कम्पनीहरूले सयौँ मेगावाट क्षमताका आयोजना निर्माण गरिरहेको र नेपालले विद्युत् निर्यातमार्फत विदेशी मुद्रा आर्जन गर्न थालेको उनको भनाइ थियो।कार्यक्रममा निजी क्षेत्र, प्रवासी नेपाली र सरकारबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो। प्रवासी नेपालीको अनुभव, ज्ञान, लगानी र अन्तर्राष्ट्रिय सञ्जाललाई नेपालको विकाससँग जोड्न सके आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने सहभागीहरूको धारणा थियो।कार्यक्रमको समापनमा अन्तरक्रियामा उठेका विषय एफएनसीसीआईमार्फत नेपाल सरकारसम्म पुर्याउने तथा आगामी दिनमा नेबाब र एफएनसीसीआईबीचको सहकार्यलाई थप संस्थागत गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।




.gif)





