विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा तेस्रो पटक विश्वासको मत लिँदैछन् । बैठकमा मत विभाजनको प्रक्रिया सुरु भएको छ । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उत्पन्न संवैधानिक परिस्थितिअनुसार मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् ।प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम १२८ बमोजिम विश्वासको मतका लागि प्रस्ताव पेस गरेका छन् ।
नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच भएको तीन बुँदे सहमतिसँगै प्रदेशमा नयाँ सत्ता समीकरण बनेको छ । यसअघि सरकारमा सहभागी रहेको नेपाली कांग्रेसले भदौ ३ गते मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गराएको थियो । कांग्रेस बाहिरिएसँगै एमाले र नेकपाबिच साउन ९ गते भएको सहमति अनुसार गत सोमबार नयाँ मन्त्रीहरूले शपथ ग्रहण गरिसकेका छन् ।मुख्यमन्त्री कार्कीले यसअघि दुई पटक विश्वासको मत लिइसकेका छन् । पहिलो पटक २०८१ वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएपछि वैशाख ३१ गते उनले विश्वासको मत लिएका थिए । त्यतिबेला उनले ५७ मत प्राप्त गरेका थिए ।
दोस्रो पटक एमाले र माओवादीको केन्द्रमा गठबन्धन फेरिए र एमाले काँग्रेसको गठबन्धन बनेपछि २०८१ असोज २ गते उनले दोस्रो पटक विश्वासको मत लिएका थिए । सो समयमा उनको पक्षमा ६६ र विपक्षमा १५ मत परेको थियो ।९२ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । हालको समीकरण अनुसार मुख्यमन्त्रीको पक्षमा स्पष्ट बहुमत देखिन्छ । प्रदेशसभामा एमालेको ४०, नेपाली कांग्रेसको २९, नेपाली कम्युनिस्ट पार्टीको १७, राप्रपाको सभामुखसहित ५ र जसपा नेपालको १ जना सांसद छन् । एमाले र नेकपा मिल्दा मात्रै मुख्यमन्त्रीको पक्षमा ५७ मत पुग्ने देखिन्छ ।




.gif)





