काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा कालो चस्मा लगाएर उपस्थित हुनुपर्ने कारणसहितको स्वास्थ्य प्रतिवेदन संघीय संसद् सचिवालयमा बुझाएका छन्।आँखामा देखिएको स्वास्थ्य समस्याका कारण कालो चस्मा प्रयोग गर्नुपरेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले स्वास्थ्य रिपोर्टसहितको पत्र सचिवालयमा पठाएका हुन्। संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रधानमन्त्रीले पठाएको पत्रमा चिकित्सकीय कारण स्पष्ट गरिएको छ।यसअघि सभामुख डोलप्रसाद अर्यालको अध्यक्षतामा बसेको प्रतिनिधि सभाको कार्य व्यवस्था परामर्श समिति बैठकले सांसद तथा मन्त्रीहरूलाई कालो चस्मा लगाएर सदनमा उपस्थित हुन नदिने निर्णय गरेको थियो। स्वास्थ्यसम्बन्धी कारण भए त्यसको प्रमाणसहित सचिवालयलाई जानकारी गराउनुपर्ने समितिको निर्णय थियो।
सोही निर्णयअनुसार प्रधानमन्त्री शाहले आफ्नो स्वास्थ्य परीक्षणको रिपोर्ट सचिवालयमा बुझाएका हुन्।रिपोर्टअनुसार शाहलाई आँखामा उज्यालो सहन कठिन हुने तथा आँखा सुक्खा हुने समस्या देखिएको छ। उनले साउन २२ गते छाउनीस्थित सैनिक अस्पतालमा आँखाको परीक्षण गराएका थिए।लेफ्टिनेन्ट कर्णेल डा. सचित ढकालले गरेको परीक्षणमा प्रधानमन्त्रीलाई तेज उज्यालोमा हेर्न असहज हुने भएकाले आवश्यकताअनुसार आइड्रप प्रयोग गर्नुपर्ने र कालो चस्मा लगाउनुपर्ने उल्लेख गरिएको छ।यसैबीच, बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाहसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमसमेत तय भएको छ।




.gif)



