काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह बिहीबार बिहान बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि हिँडेका छन् । प्रधानमन्त्री शाहसँगै बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि पूर्वाधार विकास मन्त्री सुनिल लम्साल पनि त्यसतर्फ गएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिइन् ।दाहालका अनुसार प्रधानमन्त्री र मन्त्रीसहितको टोली बिहीबार बिहान साढे नौ बजे सडक मार्ग हुँदै बाढी प्रभावित मुख्य नुवाकोटको विदुरतर्फ प्रस्थान गरेको हो ।
हिजो बुधबार रसुवाको भोटेकोसी त्रिशूली हुँदै आएको बाढीले नदी तटीय क्षेत्रहरूमा अकल्पनीय क्षति पुर्याएको थियो । बाढीको लगत्तै प्रधानमन्त्री शाहले उच्चस्तरीय बैठकहरू आह्वान गरी उद्धार तथा राहतका लागि मातहतका निकायहरूलाई आवश्यक निर्देशन दिनुका साथै निरन्तर सहजीकरण गर्दै आएका छन् । बाढीका कारण धेरै स्थानमा क्षति पुगेको भए पनि समयको सीमाका कारण प्रधानमन्त्री शाहले नुवाकोटको विदुर तथा आसपासका प्रभावित बस्तीहरूको पहिला निरीक्षण गर्नेछन् । भ्रमणका क्रममा प्रधानमन्त्री र पूर्वाधार मन्त्रीको टोलीले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष जानकारी लिनुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग राहत, पुनर्स्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनबारे छलफल गर्नेछ । साथै,सम्पूर्ण प्रभावित क्षेत्रहरूमा द्रुत गतिमा राहत पुर्याउन र पूर्वाधार पुनर्निर्माणको कामलाई तीव्रता दिन प्रधानमन्त्रीले आवश्यक निर्देशन दिने बताइएको छ ।




.gif)



