काठमाडौं । सार्वजनिक स्थानमा ड्युटीमा खटिएका प्रहरीको काम–कारबाही नागरिकले अडियो तथा भिडियोमार्फत रेकर्ड गर्न पाउनुपर्ने माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।नेपाल ल क्याम्पसमा कानून विषय अध्ययनरत विद्यार्थी विवेक चौधरी र विकास यादवले सार्वजनिक सरोकारको विषय भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । उक्त रिटमा मंगलबार सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।
इजलासले निवेदकले माग गरेबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो भन्दै विपक्षीहरूलाई आधार र कारणसहित लिखित जवाफ पेस गर्न आदेश दिएको छ । लिखित जवाफ बाटोको म्यादबाहेक सूचना म्याद तामेल भएको मितिले १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत पेस गर्न भनिएको छ ।सर्वोच्चको आदेशमा निवेदनमा माग गरिएबमोजिम आदेश जारी गर्नुपर्ने वा नपर्ने विषयमा विपक्षीको धारणा माग गर्दै रिट निवेदनको प्रतिलिपिसमेत संलग्न गरी म्याद सूचना जारी गर्न भनिएको छ ।रिट निवेदकका तर्फबाट अधिवक्ताहरू नारायणप्रसाद श्रेष्ठ र थीरबहादुर कार्कीले बहस गरेका थिए ।सर्वोच्च अदालतको आदेशअनुसार लिखित जवाफ प्राप्त भएपछि वा १५ दिनको अवधि समाप्त भएपछि मुद्दालाई नियमानुसार पेस गरिनेछ ।




.gif)



