images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • कृष्णभीरको सडक भासिँदा लमजुङ–काठमाडौं यात्रा कष्टकर,...

कृष्णभीरको सडक भासिँदा लमजुङ–काठमाडौं यात्रा कष्टकर, भाडा दोब्बरभन्दा बढी

कृष्णभीरको सडक भासिँदा लमजुङ–काठमाडौं यात्रा कष्टकर, भाडा दोब्बरभन्दा बढी

images
images
मंगलवार, भाद्र २३ २०८३
मंगलवार, भाद्र २३ २०८३
  • लमजुङ, २३ भदौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौं यात्रामा प्रत्यक्ष असर परेको छ । नियमित मार्ग अवरुद्ध हुँदा बेँसीसहरबाट काठमाडौं जाने सवारीसाधनले लामो वैकल्पिक बाटो प्रयोग गर्नुपरेपछि यात्राको समय र खर्च दुवै बढेको छ ।

    images
    images

    यसअघि करिब पाँचदेखि छ घण्टामा पूरा हुने बेँसीसहर–काठमाडौं यात्रा अहिले १२ देखि १३ घण्टासम्म लाग्ने गरेको छ । सडक अवरोधका कारण सार्वजनिक सवारीसाधनको सङ्ख्या घट्नुका साथै यात्रुको चापसमेत कम भएको व्यवसायीले बताएका छन् ।

    भदौ १४ गते कृष्णभीरमा सडक भासिएपछि बेँसीसहरबाट काठमाडौं सञ्चालन हुने माइक्रोबस तथा ठूला बस चितवन, हेटौँडा हुँदै दक्षिणकालीको वैकल्पिक मार्गबाट सञ्चालन भइरहेका छन् । लामो र घुमाउरो बाटोका कारण सवारीसाधनको सञ्चालन खर्च बढेपछि यात्रुले तिर्ने भाडासमेत उल्लेख्य रूपमा बढेको छ ।

    images
    images

    बेँसीसहर माइक्रो काउन्टरका अनुसार सडक अवरुद्ध हुनुअघि दैनिक ४० देखि ५० वटा माइक्रोबस काठमाडौं जाने गरेकामा अहिले पाँचदेखि सात वटामात्र सञ्चालनमा छन् । अत्यावश्यक काम परेका यात्रुले मात्रै काठमाडौं जाने गरेका छन् ।

    सडक अवरुद्ध हुनुअघि डिजेल माइक्रोबसको भाडा रु ९०० र विद्युतीय माइक्रोबसको रु ७०० रहेकामा अहिले क्रमशः रु दुई हजार र रु एक हजार ५०० पुगेको छ । यात्रु तथा सवारीसाधनको सङ्ख्या घट्दा चालक र व्यवसायीको आम्दानीमा समेत असर परेको छ ।

    बेँसीसहर–काठमाडौं माइक्रोबसका चालक मुस्कान राईका अनुसार वैकल्पिक मार्गबाट यात्रा गर्दा समय निकै बढेको छ । “बाटो लामो भएकाले समय पनि धेरै लाग्छ,” उनले भने।

    ठूला बसमा पनि यात्रुको सङ्ख्या घटेको छ । पृथ्वी राजमार्ग बस काउन्टरका अनुसार यसअघि बेँसीसहरबाट काठमाडौं दैनिक पाँचदेखि छ वटा ठूला बस छुट्ने गरेकामा अहिले एउटा बसमात्र सञ्चालनमा छ । वैकल्पिक मार्गको दूरी र सञ्चालन खर्चअनुसार भाडा फरक पर्ने भएकाले हाल निश्चित भाडा निर्धारण गरिएको छैन । यसअघि सवारीसाधनअनुसार रु ९०० देखि रु एक हजार २०० सम्म रहेको भाडा अहिले दुई गुणाभन्दा बढी पुगेको छ ।

    बिरामीलाई थप सास्ती

    सडक अवरोधको प्रत्यक्ष असर उपचारका लागि काठमाडौं, चितवन र पोखरा रेफर हुने बिरामीमा समेत परेको छ ।

    लमजुङ अस्पतालका सूचना अधिकारी अनिल रेग्मीका अनुसार अस्पतालमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं, चितवन र पोखरा रेफर गर्ने गरिएको छ । काठमाडौं लैजानुपर्ने केही बिरामीलाई एम्बुलेन्समार्फत घुमाउरो बाटोबाट लैजानुपरेको छ भने कतिपयलाई पोखरासम्म एम्बुलेन्समा पु¥याएर त्यहाँबाट हेलिकप्टरमार्फत लैजानुपर्ने अवस्था आएको उन्ले बताएका छन् ।

    सडक अवरोधका कारण बिरामी र आफन्तले थप समय तथा आर्थिक भार व्यहोर्नुपरेको रेग्मीको भनाइ छ ।

    यात्रुको खर्च दोब्बरभन्दा बढी

    बेँसीसहरकी प्रकृति श्रेष्ठले वैकल्पिक मार्गका कारण यात्रा निकै लामो र खर्चिलो भएको बताएका छन् । भदौ २० गते काठमाडौंको काम सकेर बेँसीसहर फर्किएकी श्रेष्ठले काठमाडौं जाँदा माइक्रोबसमा रु ९०० भाडा तिरेकोमा फर्किंदा रु दुई हजार तिर्नुपरेको बताएका छन् ।

    “वैकल्पिक बाटो निकै लामो र थकाइलाग्दो रहेछ । वर्षाका कारण बाटो चिप्लो हुने र ठाउँठाउँमा पहिरोको जोखिमसमेत रहेकाले डर लाग्छ,” उनले भनिन ।

    कृष्णभीरको सडक अवरोधका कारण लमजुङबाट काठमाडौं जाने यात्रु तथा व्यवसायी दुवै प्रभावित भएका छन् । नियमित मार्ग सञ्चालनमा नआएसम्म लामो दूरीको यात्रा, बढेको भाडा र वैकल्पिक मार्गमा रहेको जोखिमका कारण यात्रुले थप सास्ती खेप्नुपर्ने अवस्था देखिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend