काठमाडौँ । काठमाडौँको क्षेत्रपाटीबाट चोरी भएको एउटा मोटरसाइकल ट्राफिक प्रहरीले १२ घण्टामै नियन्त्रणमा लिएको छ । सोमबार बिहान पौने २ बजेतिर काठमाडौँ महानगरपालिका वडा नम्बर–१७ स्थित क्षेत्रपाटीबाट सुनिल रायमाझीले चढ्दै आएको बागमती प्रदेश–०२–०३७ प ३५१५ नम्बरको बजाज कम्पनीको पल्सर एनएस मोटरसाइकल चोरी भएको थियो । त्यसैदिन दिउँसो २ बजे बुढानीलकण्ठ नगरपालिका–७ स्थित भंगालबाट मोटरसाइकल नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्लेले बताए ।
गुल्मीको इस्मा गाउँपालिका घर भएका सुनिल रायमाझीले सो मोटरसाइकलमा जीपीएस ट्रायाकिङ जडान गरेका थिए । जीपीएसको सहयोग लिएर खोज्दै जाँदा निकै छोटो समयमा मोटरसाइकल सहित चोरीमा संलग्न आरोपीलाई पक्राउ गरिएको एसएसपी काफ्लेले बताए । उनले भने, ‘सो मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई पक्राउ परेका छौँ ।’
पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर–२ घर भएका ३२ वर्षीय रुबिन तामाङ र पछाडि सवार काभ्रेको दुधकोशी गाउँपालिका–११ घर भएर बानेश्वर बस्ने वर्ष १९ को अमन लामा छन् । उनीहरू विरुद्ध चोरी मुद्दामा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँमा लेखेर पठाउने एसएसपी काफ्लेले बताए ।




.gif)





