काठमाडौँ । भारतले नेपालमा दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न स्वीकृति दिएको छ । भारतको विद्युत् मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई १३ सेप्टेम्बरदेखि ३१ डिसेम्बर २०२६ सम्म दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न स्वीकृति दिएको हो ।भारतको विद्युत् मन्त्रालयको सूचनाअनुसार मुजफ्फरपुर–ढल्केबर ४०० केभी डीसी लाइनमार्फत ६०० मेगावाटसम्म र टनकपुर–महेन्द्रनगर १३२ केभी एससी लाइनमार्फत ५४ मेगावाटसम्म विद्युत् निर्यात गर्न सकिनेछ । यसअनुसार नेपालले भारतबाट कुल ६५४ मेगावाटसम्म विद्युत् आयात गर्न पाउनेछ । भारतले दैनिक राति १२ बजेदेखि बेलुकाको ६ बजेसम्म १८ घण्टाका लागि विद्युत् निर्यातको स्वीकृति दिएको हो । सन् २०२७ को जनवरीदेखि नेपाललाई आवश्यक पर्ने विद्युतको परिमाणबारे भने डिसेम्बर २०२६ मा पुनरावलोकन गरिने भारतको विद्युत् मन्त्रालयले जनाएको छ ।
हालै नेपालमा आएको बाढीपहिरोका कारण विभिन्न जलविद्युत् आयोजनाका संरचनामा ठूलो क्षति पुगेपछि विद्युत् उत्पादनमा कमी आएको छ । त्यसले नेपालमा आन्तरिक विद्युत् माग व्यवस्थापनका लागि थप विद्युत् आवश्यक पर्ने अवस्था सिर्जना भएको छ । भारतको विद्युत् मन्त्रालयले बाढीका कारण नेपालको जलविद्युत् पूर्वाधारमा भएको क्षति र त्यसबाट स्वदेशी विद्युत उत्पादनमा परेको प्रभावलाई ध्यानमा राखेर निर्यातको स्वीकृति दिइएको जनाएको छ । भारतले दिएको यो स्वीकृतिले बाढी प्रभावित अवधिमा नेपालको विद्युत् माग व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, दुई देशबीचको ऊर्जा सहकार्यलाई थप मजबुत बनाउने भारतको भनाइ छ ।




.gif)



