images

२०८३ आश्विन २ गते

images
images
images

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

images
images
बुधवार, भाद्र ३१ २०८३
बुधवार, भाद्र ३१ २०८३
  • लमजुङ, ३१ भदौ । मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय क्षेत्रको सुरक्षाबारे चासो बढाएको छ । 

    images
    images

    हिमताल विस्फोटबाट अचानक ठूलो बाढी आएमा त्यसको प्रभाव मर्स्याङ्दी नदी हुँदै तल्लो तटीय क्षेत्रमा पर्न सक्ने भएकाले जोखिमको अध्ययन, नियमित अनुगमन, पूर्वसूचना र विपद् प्रतिकार्यको तयारी आवश्यक देखिएको हो ।

    मनाङको नासो गाउँपालिका–२ मा रहेको डोना (थुलागी) हिमताललाई विगतदेखि नै सम्भावित जोखिमयुक्त हिमतालका रूपमा पहिचान गरिएको छ । विभिन्न अध्ययनले तालको क्षेत्रफल करिब ०.९ वर्गकिलोमिटर आसपास रहेको देखाएका छन् । सन् २०१७ मा गरिएको सर्वेक्षणले तालको अधिकतम गहिराइ ७६ मिटर रहेको देखाएको थियो । ती अध्ययन केही वर्षअघिका भएकाले अहिले तालको क्षेत्रफल, पानीको मात्रा, हिमनदीको अवस्था तथा ताल वरपरको भौगोलिक संरचनामा के–कस्तो परिवर्तन आएको छ भन्ने विषय पुनः अध्ययन गर्नुपर्ने आवश्यकता बढेर गएको छ । विगतमा पहिचान गरिएको जोखिम अहिले कस्तो अवस्थामा छ भन्नेबारे थप स्पष्टता आवश्यक रहेको देखाउँछ ।

    images
    images

    नासो गाउँपालिका–२ का वडाध्यक्ष रवि गुरुङका अनुसार डोना हिमताल जोखिमयुक्त अवस्थामा रहे पनि तत्कालै केही हुने अवस्था छैन । तालको आकार विगतको तुलनामा परिवर्तन हुँदै गएको र विस्तार भइरहेको उनले बताए । “ताल जोखिममा छ, अहिलेसम्म केही भएको छैन । आकार पहिलाको भन्दा फरक हुँदै ठूलो भइरहेको छ,” उनले भने । तालको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले पहल गरिरहेको भए पनि संरक्षणका लागि ठूलो बजेट आवश्यक पर्ने उनले बताए । 

    प्रदेश र सङ्घीय सरकारसँग आवश्यक सहयोगका लागि पहल भइरहेको तथा जोखिमबारे स्थानीयलाई सूचना दिने र सचेत गराउने काम भइरहेको उनको भनाइ छ । उहाँका अनुसार मनास्लु हिमालको फेदीमा रहेको डोना ताल प्राकृतिक सौन्दर्यका कारण पर्यटकको आकर्षणसमेत बनेको छ । विदेशी तथा आन्तरिक पर्यटक गरी वार्षिक २०० जना ताल क्षेत्रमा पुग्ने गरेको उनले बताए । 

    मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले डोना हिमताल जोखिमयुक्त अवस्थामा रहेको र यसको जोखिम न्यूनीकरणका लागि थप अध्ययन तथा पहल आवश्यक रहेको बताए । उनका अनुसार तालमा बालुवा तथा माटो थुप्रिँदै गएकाले चिन्ताको विषय बनेको छ । “ताल तत्काल फुट्छ भन्न सकिँदैन, तर तत्काल फुट्दैन भन्न सकिने अवस्था पनि छैन । जुनसुकै बेला जोखिम हुनसक्छ,” उनले भने ।

    जिल्लामा विपद् प्रतिकार्यको सामान्य तयारी भए पनि ठूलो आयामको हिमताल विस्फोटजन्य बाढी आएमा त्यसलाई सामना गर्ने क्षमता सीमित रहेको उनले बताए। जोखिम न्यूनीकरणका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा अनुरोध गरिएको र जिल्लास्तरीय बैठकबाट समेत आवश्यक पहल गर्ने निर्णय भएको उनको भनाइ छ ।

    ताल फुटेमा मनाङका विभिन्न बस्ती हुँदै मर्स्याङ्दी नदीको बहाव क्षेत्रका तल्लो जिल्लासम्म प्रभाव पर्न सक्ने उनले बताए । बस्ती, सडक, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा क्षति पुग्न सक्ने भएकाले समयमै सूचना प्रवाह गरी मानवीय क्षति रोक्नुपर्ने उनको भनाइ छ । 

    यसैगरी, लालुपाते हाइड्रोपावरले डोना ताल आसपासमा जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अघि बढाइरहेको र तालको पानी उपयोग गर्ने विषयमा अध्ययन भइरहेको प्रजिअ खनालले बताए। तालको जोखिम र त्यससँग जोडिएका संरचनालाई समेत ध्यानमा राखेर आवश्यक अध्ययन तथा सावधानी अपनाउनुपर्ने उनको भनाइ छ ।

    हिमतालका जानकार सुदन विकास महर्जनले डोना हिमतालको हालको अवस्था बढेको वा घटेको बारेमा स्थलगत अध्ययन नगरी यकिन गर्न नसकिने बताए । हिमतालको जोखिम विगतदेखि नै रहेको र यस्ता तालको नियमित अनुगमन आवश्यक रहेको उनको भनाइ छ । उहाँका अनुसार जोखिमयुक्त हिमतालको दुई–तीन वर्षको अन्तरालमा अनुगमन गर्नु आवश्यक हुन्छ । 

    सरकारले त्यस्ता हिमतालको स्थलगत निरीक्षण गरी जोखिम न्यूनीकरणका लागि आवश्यक पहल गर्नुपर्ने उनले बताए । मस्र्याङ्दी नदी मनाङबाट लमजुङ हुँदै गोरखा र तनहुँ पार गरी त्रिशूली नदीमा मिसिन्छ । त्यसैले डोना हिमतालबाट उत्पन्न हुन सक्ने ठूलो बाढीको जोखिमलाई मनाङमा मात्र सीमित नराखी मस्र्याङ्दी नदीको तल्लो तटीय क्षेत्रसम्म जोडेर हेर्नुपर्ने देखिएको छ ।

    लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले डोना हिमतालका कारण मस्र्याङ्दी नदीमा बाढी आएको खण्डमा जिल्लाको तल्लो तटीय क्षेत्र जोखिममा पर्न सक्ने बताए ।  उहाँका अनुसार सुन्दरबजार आसपासका तल्लो भूभाग, बेँसीसहरका केही तल्लो क्षेत्र तथा मर्स्याङ्दी करिडोरमा रहेका जलविद्युत् आयोजनासमेत जोखिममा पर्न सक्छन् । 

    “मनाङ र लमजुङ बढी जोखिममा पर्न सक्ने क्षेत्र हुन् । ताल फुट्छ वा फुट्दैन भनेर अहिले नै निश्चित भन्न सकिने अवस्था छैन,” उनले भने । उनका अनुसार ठूलो आयामको विपद् आएमा अहिलेको स्रोतसाधनले त्यसलाई सामना गर्न कठिन हुनसक्छ । त्यसैले पूर्वसूचना प्रवाह गर्ने तथा मानवीय जीवन जोगाउने विषयलाई प्राथमिकतामा राखेर विपद् तयारी गरिएको उनले बताए ।  

    बाढीको जोखिमलाई पूर्ण रूपमा रोक्न नसकिए पनि नियमित अनुगमन, जोखिमको पुनःमूल्याङ्कन, पूर्वसूचना प्रणाली, सम्भावित बाढीको बहाव क्षेत्रको पहिचान तथा स्थानीय तह र सुरक्षा निकायबीचको समन्वयबाट क्षति न्यूनीकरण गर्न सकिने देखिन्छ । 

    मस्र्याङ्दी नदी आसपासमा बस्तीका साथै सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य महत्वपूर्ण पूर्वाधार रहेकाले हिमतालको जोखिमलाई माथिल्लो हिमाली क्षेत्रमा मात्र सीमित विषयका रूपमा नहेरी तल्लो तटीय क्षेत्रको विपद् व्यवस्थापन योजनासँग जोड्नुपर्ने देखिन्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend