images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • सडकका समस्या तत्काल समाधान गर्न ‘सडक...

सडकका समस्या तत्काल समाधान गर्न ‘सडक सुझाव’ एप सञ्चालन

सडकका समस्या तत्काल समाधान गर्न ‘सडक सुझाव’ एप सञ्चालन

images
images
बिहिवार, आश्विन १ २०८३
बिहिवार, आश्विन १ २०८३
  • काठमाडौँ । सडक डिभिजन काठमाडौँले सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी तत्काल उपलब्ध गराउन सकिने गरी ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा ल्याएको छ। एक कार्यक्रमका बिच डिभिजनले काठमाडौँ जिल्लाका १० वटै निर्वाचन क्षेत्रबाट निर्वाचित सांसदहरूलाई एपबारे ब्रिफिङ गराएको हो। एपमार्फत सडकमा भएका खाल्डाखुल्डी, सडक क्षति, पानी जम्ने समस्या, ट्राफिक सुरक्षा तथा सडक निर्माणसँग सम्बन्धित समस्या फोटोसहित रिपोर्ट गर्न सकिने व्यवस्था रहेको डिभिजन प्रमुख सुवोधकुमार देवकोटाले जानकारी दिए। उक्त एपलाई औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको समेत उनले बताए।

    images
    images

    समस्या रिपोर्ट गरिसकेपछि समस्या देखिएको स्थान एपले जीआईएस म्यापिङमार्फत पहिचान गर्नेछ। प्रयोगकर्ताले आवश्यक परे ठेगाना खोजेर स्थानसमेत निर्धारण गर्न सक्ने डिभिजन प्रमुख देवकोटाको भनाइ छ। समस्या दर्ता गर्दा फोटो, समस्याको प्रकार, गम्भीरताको स्तर र नजिकको चिनारी स्थान राख्नुपर्ने उनले बताए। काठमाडौँ उपत्यकाका सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्न सडक डिभिजन कार्यालयले यसअघि नै ‘सडक पोटहोल मर्मत एम्बुलेन्स’ परिचालन गरिसकेको जानकारी पनि उनले दिए। सडकलाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले कार्यालयले मर्मत अभियानलाई तीव्र बनाएको छ।

    एप सञ्चालनबारे जानकारी दिँदै डिभिजन प्रमुख देवकोटाले भने, ‘हामीले नयाँ एप्स ‘सडक सुझाव’ भनेर लन्च गरेका छौँ। यसमा ड्यामेज रोड र वाटर लजिङको एरिया छ भने रिपोर्ट गर्न सकिन्छ।’ एपको प्रयोगबारे थप प्रस्ट पार्दै उनले थपे, ‘सडकमा खाल्डाखुल्डी, सडक क्षति, पानी जम्ने वा सडक निर्माणसम्बन्धी कुनै समस्या देख्नुभएको छ भने अब समाधान पनि त्यही एपमार्फत जुट्न सकिन्छ।’एप डाउनलोड र रिपोर्ट गर्ने प्रक्रियाबारे बताउँदै उनले भने, ‘सबैभन्दा पहिले प्ले स्टोर वा एप स्टोरमा गई सडक सुझाव एप डाउनलोड गर्ने र होम स्क्रिनमा रहेको ‘रिपोर्ट अ प्रब्लम’मा क्लिक गरी समस्याको फोटो अपलोड गर्न सकिन्छ। फोटो खिचेको स्थान एपले स्वतः पहिचान गर्दछ।’ समस्या दर्ता प्रक्रियाबारे थप विवरण दिँदै उनले थपे, ‘समस्याको प्रकार र गम्भीरताको स्तर छनोट गरी सबमिट गरेपछि एउटा रिफरेन्स नम्बर प्राप्त हुन्छ। दर्ता गरिएको रिपोर्टको अवस्था पनि एपमार्फत हेर्न सकिन्छ।’

    images
    images

    प्राप्त रिपोर्टहरूलाई समस्याको आवश्यकता, गम्भीरता र प्राथमिकताका आधारमा मूल्याङ्कन गरी व्यवस्थापनको प्रक्रिया अघि बढाइने उनको भनाइ छ। सडक डिभिजन काठमाडौँ जनताको सेवा र कल्याणका लागि २४ सै घण्टा प्रतिबद्ध रहेको देवकोटाले दाबी गरे। विस्तारै यो प्रणालीसँग छिमेकी जिल्लाहरू भक्तपुर र ललितपुरलाई समेत जोडिने जानकारी उनले दिएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend