images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • सौराहामा ११ पुसदेखि हात्ती तथा पर्यटन...

सौराहामा ११ पुसदेखि हात्ती तथा पर्यटन महोत्सव

सौराहामा ११ पुसदेखि हात्ती तथा पर्यटन महोत्सव

images
images
सोमवार, पौष १ २०८१
सोमवार, पौष १ २०८१
  • चितवन । चितवनको सौराहामा ११ पुसदेखि हात्ती तथा पर्यटन महोत्सव हुने भएको छ ।नयाँ वर्ष २०२५ र क्रिसमसको अवसर पारेर १५ पुससम्म बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा १८औं चितवन हात्ती तथा पर्यटन महोत्सव हुन लागेको हो ।

    images
    images

    महोत्सव उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने कार्यक्रम तय भएको महोत्सव आयोजक क्षेत्रीय होटल संघ सौराहाले जनाएको छ ।हरेक वर्ष आयोजना हुने महोत्सवले सौराहामा आन्तरिक तथा वाह्य पर्यटक आगमन वृद्धि हुने विश्वास संघको छ । होटलको अकुपेन्सी दर अहिले ४० प्रतिशत रहेकोमा महोत्सवमा २० देखि २५ प्रतिशत बढ्ने अपेक्षा आयोजकको छ ।

    महोत्सवमा यहाँका होटलहरूले पर्यटकलाई आर्कषित गर्न होटल तथा रेस्टुरेन्टमा खाना र आवासमा १० प्रतिशत छुट उपलब्ध गराउने आयोजकको भनाइ छ ।नेपाल घुम्न आउन् विदेशी पर्यटकलाई अंग्रेजी नयाँ वर्ष र क्रिसमससम्म सौराहामा नै रोक्ने उद्देश्यले हात्ती महोत्सव आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।

    images
    images

    अघिल्लो वर्ष चित्रसारी पुल नजिकैको चौरमा महोत्सव गरिएकोमा यसपटक पुनः बाघमारा चौरमा नै गर्न लागिएको हो । महोत्सवको तयारी तीव्र गतिमा अगाडि बढेको संयोजक रामकुमार अर्यालले जानकारी दिए । उनका अनुसार यसपटक राष्ट्रपतिबाट सौराहालाई जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी गरिएको छ । यसका लागि सौराहा पर्ने रत्नननगर नगरपालिकाले निर्णय गरी प्रदेश सरकार हुँदै केन्द्रसम्म पठाउने तयारी गरेको छ ।

    ५० वर्षको इतिहास बोकेको चितवनको पर्यटनलाई स्थापित गर्ने गरी पर्यटकीय राजधानी घोषणा गर्न लागिएको कार्यक्रम संयोजक अर्यालले जानकारी दिए । त्यसको स्तम्भ सौराहाको ड्याम साइट क्षेत्रमा बनाइने संयोजक अर्यालले बताए ।महोत्सवमा डिजिटल प्रविधिबाट कार्यक्रम प्रर्वद्धन गर्ने र वन्यजन्तु तथा वातावरणमैत्रीका लागि प्रकृति अनुकूल स्टल तथा स्टेजहरू तयार गरिने कार्यक्रम संयोजक अर्यालले जानकारी दिए ।

    आयोजकका अनुसार महोत्सवमा हात्तीको शृंगार प्रतियोगिता, हात्ती वनभोज, हात्तीमैत्री फुटबल पेनाल्टी प्रतियोगिता, हात्तीमैत्री म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिका स्तरीय डुंगा प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एन्ड ट्राभल एजेन्सीहरूसँग बीटुबी गोष्ठी, चितवनको पर्यटनको सम्भावना हिजो र आज विषयक अन्तर्क्रिया, स्थानीय भेषभूषा तथा कला संस्कृतिसहित झाँकी प्रर्दशन, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति तथा महिला उद्यमी र स्थानीय कृषि उत्पादनको प्रदर्शनी पनि राखिने आयोजकले जनाएको छ ।

    रेष्टुरेन्ट एण्ड बार एसोसियसन सौराहाका अध्यक्ष ध्रुव गिरीले हात्ती महोत्सव र फुड फेस्टिबल दुई कार्यक्रम सौराहाको ब्रान्ड बनिसकेकोले पर्यटकलाई आर्कषित गर्न सजिलो भएको बताए ।हात्ती महोत्सवमा निजी तथा सरकारी गरी ८० भन्दा बढी हात्ती सहभागी हुनेछन् । सौराहामा ६० वटा निजी हात्ती छन् ।

    हात्ती दौडबाट हात्ती महोत्सव

    २०६० साल ताका कोरियामा बसेका एक नेपाली सौराहा आए । सौराहाको पर्यटन व्यवसायलाई माथि उठाउन उनले हात्ती दौड प्रतियोगिता गर्न सुझाए ।  पहिलो वर्ष २०६० सालमा उनकै योजनामा हात्तीको लावालस्कर बनाएर सँगसँगै हिँडाउने र राप्ती नदी तारेर पहिलो वर्ष अन्तर्राष्ट्रिय हात्ती दौड प्रतियोगिता आयोजना गरियो । त्यसबेला सौराहामा निजी हात्ती १६ वटा थिए । केही हात्ती निकुञ्जसँग माग गरियो । निकुञ्जले पनि सहयोग गरेको क्षेत्रीय होटल संघ सौराहाका पूर्वअध्यक्ष गिरीधारी चौधरीले बताए । त्यतिबेला निकुञ्जका र निजी हात्ती गरी ३० वटा हात्ती दौडका लागि प्रयोग भएका थिए ।

    अर्को वर्ष हात्ती दौडका लागि भनेर हात्तीलाई दौडाउन डोरी टाँगेर ट्र्याक बनाइयो । तर, हात्तीहरू ट्र्याकमा दौडिन सकेनन् । ट्र्याक भत्काएर एउटा हात्तीको पछाडि अर्को हात्ती गएर बसे । सिधा दौडन सकेनन्, मानेनन् ।  तेस्रो वर्षमा हात्ती दौड अगाडि नै सँगसँगै दौडाउने अभ्यास गराइयो । सो वर्ष व्यवसायीहरूले चाहेजस्तै गरी हात्तीहरू सँगसँगै दौडिए । छैटौं संस्करणअघिसम्म अन्तर्राष्ट्रिय हात्ती दौड प्रतियोगिता दशैं लगत्तै हुन्थ्यो अर्थात कात्तिक महिनामा । छैटौं अन्तर्राष्ट्रिय हात्ती दौड प्रतियोगितापछि यसको समय परिर्वतन गरेर ११ पुसमा ल्याइएको हो ।

    अंग्रेजी नयाँ वर्ष र क्रिसमसको अवसर पारी सौराहा आएका विदेशी पर्यटक सौराहा नै खाली गराएर हिँड्थे । उनीहरू कि त आफ्नै देश फर्कन्थे अथवा नेपालमै बसे पनि ठूला शहरमा गएर क्रिसमस र नयाँ वर्ष मनाउने गर्दथे । यो समयमा सौराहा उनीहरूलाई भूलाउन र रोक्नका लागि यो तरिका निकालिएको चौधरीले बताए । तर, यसले आन्तरिक पर्यटक बढाए पनि विदेशी पर्यटक खासै बढाउन नसकेको व्यवसायीहरू स्वीकार गर्छन् ।

    हात्ती दौड प्रतियोगिताको नाम १०औं संस्करणबाट परिवर्तन गरी हात्ती महोत्सव बनाइयो । आयोजकको भनाइ अनुसार हात्तीसँग सम्बन्धित अन्य गतिविधिहरू जस्तै हात्तीका छावाहरूको फुटबल, हात्तीको शृंगार, वनभोज जस्ता कार्यक्रम थप भएपछि यसको दायरा पनि फराकिलो पारिएको हो । संरक्षणकर्मीहरूले हात्ती दौडाउने प्रतियोगिताले जनावरहरूको अधिकार हनन भएको आवाज उठाएपछि व्यवसायीहरू पनि दबाबमा परे । व्यवसायीहरूले पछि यसको नाम परिवर्तन गरेर हात्ती महोत्सव बनाए ।

    हात्ती महोत्सवमा विगत वर्षमा समावेश गर्दै आएका टाँगा दौड, गाडा दौड हटेका छन् । डुङ्गा दौड प्रतियोगिमा मात्रै राखिएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend