सिमकोट – हिमाली जिल्ला हुम्लामा परम्परागत घर प्रतिदिन लोप हुने अवस्था पुगेका छन्। सडक सञ्जाल जोडिएसँगै स्थानीय बासिन्दाले जस्तापाता र आरसिसी भवन निर्माण गर्न थालेपछि पुराना परम्परागत घर लोप हुने अवस्थामा पुगेका हुन्।
सिमकोट गाउँपालिका– ५ का पूर्व वडाध्यक्ष कृष्णबहादुर बोहराले उक्त वडाका आधाभन्दा बढी परम्परागत घर लोप भइसकेको बताए।
उक्त वडामा ३१२ घरधुरी रहेका छन्। यसअघि ती परम्परागत घर ढुंगा, माटो र काठले छापे हुन्थे। अहिले जस्तापाता छापेका घर प्रतिदिन बढ्दै गएपछि पुराना घर लोप हुने क्रम बढेको छ। उक्त वडाको बस्तीको नाम खाद्यक भए पनि अहिले स्थानीय पुरानो गाउँबाट घरहरु नयाँ स्थानमा सार्न थालेपछि गाउँमा वस्ती नै हराउने अवस्था रहेको उनले बताए।
त्यसैगरी, वडा नम्बरका स्थानीय वासिन्दा जयचन्द्र रोकायाले आफ्नो वडामा पनि वर्षेनी परम्परागत घरहरु भत्काएर नयाँ घर निर्माण गर्ने कार्य बढी रहेको जानकारी दिए। डेढ सय वर्ष पुराना ती परम्परागत घर भत्कने क्रम बढेर नयाँ घर बन्न थालेपछि ती पुनासा पुस्तालाई सम्झने घर लोप भई रहेकोमा उनले चिन्ता ब्यक्त गरे।
मानिसले आधुनिकता मन पराउनु स्वाभाविक भए पनि हुम्लाको पहिचान छ। त्यसैगरी खार्पुनाथ गाउँपालिका– ४ का बबरजंग हमालले वडाका ७५ प्रतिशत पुराना भवन लोप भइ सकेकाले गाउँको पहिचान गुम्ने अवस्थामा रहेको बताए।
उक्त वडामा जनता आवासले धेरै घर निर्माण गरेर न्यून आयश्रोत भएका परिवारलाई हस्तान्तरण गरेको छ भने केहीले आफ्नै लगानीमा आधुनिक घर निर्माण गरेर बस्दै आएका छन्।
सुरक्षाका हिसावले जस्तापाता छापेका घरमा वस्नु उपयुक्त भए पनि पुराना माटोले छापेका घरहरु हराउने अवस्थामा पुग्नु दुखको कुरा भएको उनले बताए।
यसरी परम्परागत घर लोप हुने सिमकोट र खार्पुनाथ गाउँपालिकामा मात्र नभएर जिल्लाका नाम्खा, सर्केगार्ड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिका केन्द्रमा पनि यो अवस्था उस्तै रहेको छ।
सडक सञ्जाल जोडिएपछि बिस्तारै परम्परागत घर लोप हुने अवस्था पुग्ने भएको कारण स्थानीय सरकारले त्यसको संरक्षणमा लाग्नुपर्ने आवाज उठ्न थालेको छ।




.gif)





