images

२०८३ आश्विन २ गते

images
images
images

आन्तरिक पर्यटकको प्रमुख गन्तव्य बन्दै छिम्केश्वरी

आन्तरिक पर्यटकको प्रमुख गन्तव्य बन्दै छिम्केश्वरी

images
images
शुक्रवार, मंसिर ५ २०८२
शुक्रवार, मंसिर ५ २०८२
  • काठमाडौँ । मंसिर ५, तनहुँ जिल्लाको सबैभन्दा अग्लो स्थान छिम्केश्वरीमा निर्माण गरिएको उद्यान (पार्क) पछिल्लो समय आन्तरिक पर्यटकको प्रमुख गन्तव्य बन्दै गएको छ। समुद्र सतहदेखि २,१३४ मिटर उचाइमा अवस्थित आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा निर्माण गरिएको उक्त पार्कले छोटो समयमा नै पर्यटकको ध्यान तानेको स्थानीय तहका प्रतिनिधिहरू बताउँछन्।

    images
    images

    प्रसिद्ध छिम्केश्वरी मन्दिर नजिकै रहेको यस उद्यानमा बिदा तथा शनिबार विशेषगरी घुम्फिरको चाप बढ्ने गरेको वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए। मन्दिरमा पूजाआजा गर्न आउने भक्तजन तथा आन्तरिक पर्यटकले उद्यान नघुमीकन फर्किनै नसक्ने गुरुङको भनाइ छ।

    करिब २२ लाख रुपैयाँ लागतमा पार्क निर्माण गरिएको हो, जसमा गण्डकी प्रदेश सरकारको २० लाख र स्थानीय जनसहभागिताको २ लाख रहेको छ। उद्यानमा २० फिट अग्लो नेपालको झण्डा पनि स्थापना गरिएको छ। शीतल मौसमका कारण गर्मीयाममा पर्यटकको संख्या झनै बढ्ने अनुमान गरिएको छ। “यहाँको मौसम छिनछिनमै परिवर्तन हुन्छ एकछिन घाम लाग्छ, फेरि हुस्सुले ढाकिदिन्छ,” गुरुङले बताए।

    images
    images

    उद्यानमा घुम्न आउने पर्यटक विशेषगरी तस्बिर खिच्न, भिडियो तथा टिकटक बनाउन रमाउने गरेका छन्। पार्कबाट धवलागिरि, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ्रे लगायतका हिमशृङ्खलाको स्पष्ट दृश्यावलोकन गर्न सकिने भएकाले यो स्थल झनै आकर्षक बनेको छ।

    गाउँपालिकाले छिम्केश्वरी मन्दिरको पनि जीर्णोद्वार गरिसकेको छ। पुरानो संरचनालाई पुनःनिर्माण गरी पित्तलको छाना सहित आकर्षक स्वरूपमा बदलिएको मन्दिर धार्मिक पर्यटकका लागि महत्वपूर्ण गन्तव्यको रूपमा स्थापित हुँदै आएको छ।

    धार्मिक विश्वास अनुसार, गोरखा मनकामनाका दिदीका रूपमा पुजिँदै आएका छिम्केश्वरीमाईका दर्शन र पूजाआजापछि मनोकामना पूरा हुने मान्यता रहेका कारण यहाँ भक्तजनको भीड लाग्ने गरेको छ। छिम्केश्वरी लेक क्षेत्रमा सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई अवस्थित छन् भने त्यसै स्थानबाट साइली गोरखकालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईको पनि दर्शन गर्न सकिने गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend