काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत दृष्टिविहीन विद्यार्थीलाई आवश्यक ब्रेल शैक्षिक सामग्री सहयोग गरेको छ।बैंकले लुम्बिनी प्रदेशको बर्दिया जिल्ला बाँसगढी नगरपालिका–५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई ब्रेल शैक्षिक सामग्री उपलब्ध गराएको हो। बैंकको बढैयाताल शाखामार्फत उक्त सहयोग गरिएको जनाइएको छ।२०४५ सालमा स्थापना भएको उक्त सामुदायिक विद्यालयमा करिब १ हजार २०० विद्यार्थी अध्ययनरत छन्। तीमध्ये २० जना दृष्टिविहीन विद्यार्थीले ब्रेल सामग्रीको सहयोगबाट अध्ययन गर्दै आएका छन्। विद्यालयमा आवश्यक ब्रेल सामग्रीको अभावका कारण दृष्टिविहीन विद्यार्थीको अध्ययन–अध्यापनमा कठिनाइ भइरहेको अवस्थालाई ध्यानमा राख्दै बैंकले सहयोग उपलब्ध गराएको जनाएको छ।
विद्यालयमा आयोजित एक कार्यक्रमबीच बैंकले दृष्टिविहीन विद्यार्थीका लागि आवश्यक गुणस्तरीय ब्रेल पेपर, ए–ग्रेड ब्रेल स्टाइलस, ए–ग्रेड इन्टरपोइन्ट ब्रेल स्लेट, स्कुल झोला, जेएडब्लूएस सफ्टवेयरसहितका शैक्षिक सामग्री वितरण गरेको हो।बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।सिटिजन्स बैंक इन्टरनेसनलले यसअघि नै विभिन्न नवीनतम बैंकिङ सेवा सञ्चालन गर्दै आएको छ। बैंकले नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको जनाएको छ।
त्यस्तै, बैंकले युवा लक्षित बचत खाता ‘सिटिजन्स जेने–जी सेभिङ्स अकाउन्ट’ र ‘सिटिजन्स डिजिटल बैंकिङ सेवा’ सञ्चालनमा ल्याएको छ। फ्रिलान्सरलाई लक्षित गर्दै ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ सुरु गरेको बैंकले जनाएको छ।बैंकले मोबाइल बैंकिङ एपमार्फत सेयर आवेदन तथा सीआरएन नम्बर सेवा लिन सकिने सुविधा, क्रस बैंक टेलर सुविधा लगायतका डिजिटल सेवासमेत उपलब्ध गराउँदै आएको छ।सिटिजन्स बैंक इन्टरनेसनलले देशभरका ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत करिब २० लाख ४२ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।




.gif)





