काठमाडौँ । रसुवा जिल्लामा हालै गएको बाढीका कारण बैंक तथा वित्तीय संस्थाको पूर्वाधार, सेवा प्रवाह र कर्जा–निक्षेप कारोबारमा परेको असरबारे नेपाल राष्ट्र बैंकले प्रभावित बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेको छ। राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, डेपुटी गभर्नरहरू किरण पण्डित र दीर्घबहादुर रावलले सोमबार प्रभावित बैंकका नेतृत्वसँग प्रत्यक्ष संवाद गर्दै शाखाको अवस्था, कर्मचारीको सुरक्षा र सेवा सञ्चालनको वर्तमानस्थितिबारे जानकारी लिएका छन्।नेपाल बैंकर्स संघका अध्यक्ष एवं माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको नेतृत्वमा सहभागी बैंक प्रतिनिधिहरूले बाढीबाट भएको क्षतिको विवरण प्रस्तुत गरेका छन्।
उक्त छलफलमा प्रभावित १२ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो। बाढीका कारण केरुङ, टिमुरे, स्याफ्रुबेंसी, वेत्रावती, मैलुङ, देविघाट र त्रिशूली क्षेत्रमा सञ्चालित बैंकका १६ वटा शाखा कार्यालयमा प्रत्यक्ष क्षति पुगेको छ। कतिपय शाखाका संरचना तथा बैंकिङ सामग्री बाढीले बगाएपछि नियमित सेवा प्रवाहमा समस्या देखिएको छ। छलफलका क्रममा बैंकहरूले कर्मचारीको सुरक्षा स्थिति, उद्धार तथा राहत गतिविधिबारे जानकारी गराउँदै सेवा सुचारु गर्न अपनाउनुपर्ने वैकल्पिक उपायहरूमा छलफल गरेका छन्। प्रभावित क्षेत्रमा यी बैंकहरूको सर्वसाधारणतर्फ करिब २ अर्ब ५० करोड रुपैयाँ कर्जा लगानी तथा झन्डै ४ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने जलविद्युत् आयोजनामा मात्रै बैंकिङ क्षेत्रको लगानी करिब ७ अर्ब रुपैयाँ पुगेको छ। यसबाहेक बैंकका भल्टमा रहेको करिब १५ करोड रुपैयाँसमेत बाढीको चपेटामा परेको प्रारम्भिक विवरण बाहिर आएको छ। विपद्का कारण निक्षेप व्यवस्थापन, कर्जा असुली र नयाँ लगानीमा पर्ने सक्ने असरबारे राष्ट्र बैंक र बैंकर्सबीच गम्भीर विचार विमर्श भएको छ।
बाढी प्रभावित क्षेत्रमा बैंकिङ सेवालाई निरन्तरता दिन वैकल्पिक व्यवस्था मिलाउने, ग्राहकलाई सहजरूपमा सेवा प्रवाह गर्ने र क्षतिग्रस्त शाखाहरू पुनः सञ्चालनमा ल्याउने विषयमा नियामकीय तहबाट आवश्यक सहजीकरण गर्ने संकेत राष्ट्र बैंकले दिएको छ। उक्त छलफलमा कृषि विकास बैंकका गोविन्द गुरुङ, सिटिजन्स बैंकका गणेशराज पोखरेल, ग्लोबल आइएमई बैंकका सुरेन्द्र रेग्मी, हिमालयन बैंकका अशोक राणा, लक्ष्मी सनराइज बैंकका अजयविक्रम राणा, माछापुच्छ्रे बैंकका सन्तोष कोइराला, नबिल बैंकका मनोज ज्ञवाली, एनआईसी एशिया बैंकका सुजित शाक्य, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ज्योतिप्रकाश पाण्डे, एनएमबी बैंकका गोविन्द घिमिरे, प्रभु बैंकका सुमन शर्मा र सानिमा बैंकका पवन आचार्यको सहभागिता रहेको थियो।




.gif)





