images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • बाढीपीडितका लागि ग्लोबल आईएमईको सबैभन्दा ठूलो...

बाढीपीडितका लागि ग्लोबल आईएमईको सबैभन्दा ठूलो सहयोग, बैंकहरूले दिए ५३ करोड

बाढीपीडितका लागि ग्लोबल आईएमईको सबैभन्दा ठूलो सहयोग, बैंकहरूले दिए ५३ करोड

images
images
सोमवार, भाद्र २२ २०८३
सोमवार, भाद्र २२ २०८३
  • काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ भने बाढीमा परेर करिब ५ हजार नागरिक अझै बेपत्ता छन्। विपद्ले चीनसँग जोड्ने रसुवागढी सडकखण्ड अन्तर्गत नुवाकोटमाथिको भाग पूर्ण रूपमा ध्वस्त बनाएको छ भने करिब एक दर्जन जलविद्युत आयोजनामा क्षति पुग्नुका साथै ३ दर्जन पक्की पुल बगेका छन्।

    images
    images

    साथै, बैंक, वित्तीय संस्था र लघुवित्तका २ दर्जन शाखा पूर्ण रूपमा क्षति हुँदा ३२ जना कर्मचारी अझै बेपत्ता अवस्थामा छन्। यसरी जनधनको ठूलो क्षति भएपछि सरकारले गत भदौ १० गते नै निजी क्षेत्र र बैंक तथा वित्तीय संस्थालाई विपद्मा सहयोग गर्न आह्वान गरेको थियो। सरकारको यो अपिलमा हातेमालो गर्दै १७ वटा वाणिज्य बैंक, नेपाल पूर्वाधार बैंक र ७ वटा राष्ट्रिय स्तरका विकास बैंकहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा ५३ करोड ५९ लाख ११ हजार रुपैयाँ नगद सहयोग उपलब्ध गराएका छन् भने केही बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय स्तरमै राहत तथा उद्धारमा थप खर्च गरिरहेका छन्।

    प्राप्त विवरण अनुसार, बाढी प्रभावित क्षेत्रको उद्धार र राहतका लागि वाणिज्य बैंक तथा वित्तीय संस्थाहरूले उत्साहजनक आर्थिक सहयोग उपलब्ध गराएका छन्। यसमध्ये ग्लोबल आईएमई बैंकले सबैभन्दा धेरै ५ करोड रुपैयाँ सहयोग गरेको छ । वाणिज्य बैंकहरूतर्फ नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ भने कुमारी बैंकले ३ करोड नगद र ३९ लाख रुपैयाँ बराबरको राहत तथा उद्धार सामग्री उपलब्ध गराएको छ । त्यस्तै, एनएमबि बैंकले ३ करोड ५१ लाख नगद र १० लाख बराबरको राहत सामग्री, एभरेष्ट बैंकले २ करोड ५१ लाख तथा कर्मचारीहरूको तर्फबाट थप ६० लाख ५५ हजार रुपैयाँ हस्तान्तरण गरेको छ।यसैगरी, लक्ष्मी सनराइज बैंकले ३ करोड २४ लाख, नेपाल बैंकले ३ करोड १० लाख, हिमालयन बैंक र प्राइम कमर्सियल बैंकले समान ३ करोड १ लाख रुपैयाँ, कृषि विकास बैंकले ३ करोड, सिद्धार्थ बैंकले २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ। यसक्रममा सानिमा बैंकले २ करोड २५ लाख, एनआईसी एशिया बैंकले २ करोड २१ लाख, प्रभु बैंकले २ करोड ११ लाख ११ हजार, र माछापुच्छ्रे बैंकले २ करोड १ लाख रुपैयाँ प्रदान गरेका छन्। साथै, नेपाल पूर्वाधार बैंकले २ करोड ५० लाख रुपैयाँ र नेपाल एसबिआई बैंकले २५ लाख रुपैयाँ सहयोग गरेका छन्।

    images
    images

     विकास बैंकहरूमा कसको कति  ?

    विकास बैंकहरूतर्फ सांग्रिला डेभलपमेन्ट बैंकले सबैभन्दा धेरै ७० लाख रुपैयाँ सहयोग गरेको छ भने शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ६५ लाख र महालक्ष्मी विकास बैंकले ५१ लाख रुपैयाँ जम्मा गरेका छन्। त्यस्तै, ज्योति विकास बैंकले ५० लाख नगद र थप ५० लाख स्थानीय पुनर्स्थापनाका लागि खर्चने घोषणा गर्दा मुक्तिनाथ विकास बैंकले ५० लाख तथा कामना सेवा र लुम्बिनी विकास बैंकले समान २५–२५ लाख रुपैयाँ सहयोग गरेका छन्।यसैबीच, नबिल बैंकले भने चौधरी फाउन्डेसनसँग मिलेर रसुवा र नुवाकोटका बाढी प्रभावितहरूका लागि १५ करोड रुपैयाँ बराबरको बहुचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रम सञ्चालन गरिरहेको छ। भदौ ११ गतेदेखि नै प्रभावित क्षेत्रमा तयारी खाना, खानेपानी, बिस्कुट, लत्ताकपडा, त्रिपाल र व्यक्तिगत सरसफाइका सामग्रीहरू वितरण सुरु गरिएको छ भने दुवै जिल्लामा व्यवस्थित राहत शिविर स्थापना गरी दैनिक भोजनको व्यवस्था मिलाइएको छ। यसका साथै, प्राथमिक स्वास्थ्य सेवा, स्वच्छ खानेपानी तथा रोग रोकथामका लागि स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै बाढीले घर पूर्ण रूपमा भत्किएका वा बस्न अयोग्य भएका परिवारका लागि ५०० वटा अस्थायी आवास एकाइ निर्माण गर्ने घोषणा समेत गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend