काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीका कारण विभिन्न १२ वटा बैंकका १७ शाखा प्रभावित भएका छन्। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन (आरडिएनए) प्रतिवेदनअनुसार बैंकिङ क्षेत्रमा रु ७२ करोड ४० लाख बराबरको क्षति भएको छ।
प्रतिवेदनअनुसार सबैभन्दा ठूलो क्षति कृषि विकास बैंकको शाखामा भएको छ। बैंकको एक शाखामा मात्रै रु ६५ करोड बराबरको क्षति भएको उल्लेख छ।
त्यस्तै, सिटिजन्स बैंकको एक शाखामा रु १ करोड ५६ लाख, ग्लोबल आइएमई बैंकको एक शाखामा रु ११ लाख, हिमालयन बैंकको एक शाखामा रु ७५ लाख र लक्ष्मी सनराइज बैंकको एक शाखामा रु १ करोड १२ लाख बराबरको क्षति भएको छ।
माछापुच्छ्रे बैंकको एक शाखामा रु ७५ लाख, नबिल बैंकको एक शाखामा रु ६३ लाख, एनआईसी एसिया बैंकका तीन शाखामा रु ८८ लाख तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका तीन शाखामा रु ४० लाख बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ।
यसैगरी एनएमबी बैंकको एक शाखामा रु ४ लाख, प्रभु बैंकका दुई शाखामा रु ५३ लाख र सानिमा बैंकको एक शाखामा रु ६३ लाख बराबरको क्षति भएको छ।
विदुरमा मात्रै ६७ करोडभन्दा बढी क्षति
प्रतिवेदनअनुसार बाढी प्रभावित क्षेत्रमा बैंक तथा वित्तीय सेवाको पूर्वाधारमा समेत ठूलो क्षति पुगेको छ। नुवाकोटको विदुर नगरपालिकामा रहेका बैंकका चार शाखामा मात्रै रु ६७ करोड १३ लाख बराबरको क्षति भएको छ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा ११ शाखामा रु ४ करोड २३ लाख, कालिका गाउँपालिकामा एक शाखामा रु २८ लाख र उत्तरगया गाउँपालिकामा एक शाखामा रु ७५ लाख बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ।
यसैगरी बैंकिङ क्षेत्रबाहेक अन्य शीर्षकमा समेत रु १९ करोड ५९ लाख बराबरको थप क्षति भएको देखिएको छ। जसअनुसार नुवाकोटको विदुरमा रु ६ करोड ४० लाख, रसुवाको गोसाइँकुण्डमा रु ९ करोड ५३ लाख, कालिका गाउँपालिकामा रु ७९ लाख र उत्तरगया गाउँपालिकामा रु ३ करोड २३ लाख बराबरको क्षति भएको छ।
बाढीका कारण बैंकका शाखा तथा वित्तीय पूर्वाधारमा पुगेको क्षतिले प्रभावित क्षेत्रमा बैंकिङ सेवा सञ्चालनमा समेत असर परेको प्रतिवेदनले देखाएको छ।




.gif)





