विराटनगर, ३० भदौ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पूर्वाञ्चल विश्वविद्यालयको अवलोकन गर्दै विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरेका छन्। मधेस प्रदेशका विभिन्न जिल्लाको भ्रमणका क्रममा विश्वविद्यालय पुग्नुभएका मन्त्री पोखरेलले विश्वविद्यालयको समग्र अवस्था, सञ्चालनमा रहेका शैक्षिक कार्यक्रम तथा समस्या र चुनौतीबारे जानकारी लिएका थिए। उनले विश्वविद्यालयका भौतिक संरचना, शैक्षिक गतिविधि, प्रशासनिक सेवा तथा व्यवस्थापनको अवस्थाबारे समेत जानकारी लिएका थिए।
अन्तक्र्रियामा मन्त्री पोखरेलले विश्वविद्यालयको शैक्षिक गुणस्तर, प्रशासनिक दक्षता, प्रविधिको प्रयोग र सेवा प्रवाहमा सुधार गर्दै संस्थालाई समयानुकूल तथा प्रतिस्पर्धी बनाउन सबै पक्षले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।
उनले परीक्षाको नतिजा समयमै सार्वजनिक गर्ने वातावरण बनाउनुपर्ने तथा विश्वविद्यालयको सम्पत्ति र उपलब्ध भौतिक पूर्वाधारको अधिकतम उपयोग गर्नुपर्ने बताएका थिए। विश्वविद्यालयको विकास भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित नभई गुणस्तरीय शिक्षा, सक्षम जनशक्ति, प्रभावकारी प्रशासन र प्रविधिमैत्री सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो।
मन्त्री पोखरेलले विश्वविद्यालयका समस्या तथा आवश्यकताका विषयमा मन्त्रालयको तहबाट आवश्यक सहजीकरण र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। विश्वविद्यालयले अघि सारेका प्राथमिकताका योजनालाई उपलब्ध स्रोत, कानुनी व्यवस्था र संस्थागत क्षमताका आधारमा क्रमशः कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिएका थिए।
विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुजनबाबु मरहट्टाले विश्वविद्यालयलाई प्रविधिमैत्री र आधुनिक संस्थाका रूपमा विकास गर्न विद्युतीय सुशासनलाई प्राथमिकताका साथ अघि बढाइने बताएका थिए। प्रशासनिक तथा शैक्षिक गतिविधिलाई प्रविधिमा आधारित, पारदर्शी, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन आवश्यक सुधारलाई तीव्रता दिइने उनले जानकारी दिएका थिए।
कार्यक्रममा शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले विश्वविद्यालयका समस्या समाधानका लागि परम्परागत कार्यशैलीभन्दा परिवर्तनकारी नीति आवश्यक रहेको बताएका थिए। विगतका केही काम सराहनीय भए पनि आगामी दिनमा विश्वविद्यालयका गतिविधिलाई स्पष्ट र मापनयोग्य प्रतिफल हासिल हुनेगरी अघि बढाउनुपर्ने उनको भनाइ थियो।
विश्वविद्यालयका पदाधिकारीले सञ्चालनमा रहेका शैक्षिक कार्यक्रम, विद्यार्थीको अवस्था, पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन तथा आगामी योजनाबारे मन्त्री पोखरेललाई जानकारी गराएका थिए।
छलफलमा शैक्षिक गुणस्तर अभिवृद्धि, प्रशासनिक सुधार, प्रभावकारी सेवा प्रवाह, प्रविधिको अधिकतम प्रयोग तथा विकास योजनालाई गति दिने विषयमा विशेष जोड दिइएको थियो। विश्वविद्यालयमा अस्पताल सञ्चालनको तयारी, आवश्यक जग्गा व्यवस्थापन तथा पूर्वाधार विकासका विषयमा समेत छलफल भएको जनाइएको छ।
स्वास्थ्य शिक्षा तथा स्वास्थ्य सेवासँग सम्बन्धित कार्यक्रमलाई थप व्यवस्थित रूपमा अघि बढाउन अस्पताल सञ्चालनलाई महत्त्वपूर्ण योजनाका रूपमा अघि सारिएको विश्वविद्यालयले जनाएको छ।
मन्त्री पोखरेलले मधेस प्रदेश भ्रमणका क्रममा धनुषा, महोत्तरी, सिरहा र सप्तरीका विभिन्न शैक्षिक संस्थाको समेत अवलोकन गरेका थिए। ती क्रममा सामुदायिक विद्यालयमा विद्यार्थीको दोहोरो विवरण, शिक्षक सरुवा तथा उपस्थिति, दिवा खाजा व्यवस्थापन, परीक्षा प्रणाली, स्थानीय पाठ्यक्रम कार्यान्वयन, प्रयोगात्मक शिक्षा, प्राविधिक धारका शिक्षक तथा प्रयोगशालाको अभाव र शिक्षक दरबन्दी मिलान लगायतका समस्या तथा सुझाव प्राप्त भएका थिए।




.gif)





