images

२०८३ आश्विन १ गते

images
images
images
  • शिक्षा
  • उद्यमशीलता विकासका लागि नबिल एसएसईका दुई...

उद्यमशीलता विकासका लागि नबिल एसएसईका दुई कार्यक्रमको आवेदन खुल्यो

उद्यमशीलता विकासका लागि नबिल एसएसईका दुई कार्यक्रमको आवेदन खुल्यो

images
images
बुधवार, भाद्र ३१ २०८३
बुधवार, भाद्र ३१ २०८३
  • काठमाडौँ । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको सातौँ समूह तथा सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान गरेको छ ।बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्दै आएका दुवै कार्यक्रमका लागि भदौ ३० गते आवेदन खुला गरेको हो । इच्छुकले आगामी असोज २६ गतेसम्म (१२ अक्टोबर २०२६) आवेदन दिन सक्नेछन् ।१८ वर्ष उमेर पुगेका र नवीन उद्यमशील सोच भएका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । छनोट भएका सहभागीले कार्यक्रममा कम्तीमा ९० प्रतिशत उपस्थिति कायम राख्नुपर्नेछ ।

    images
    images

    बैंकका अनुसार महिला, युवा, गरिब, वञ्चित तथा सीमान्तकृत समुदायका दिगो उद्यम र रोजगारी सिर्जना गर्न चाहने सक्षम तथा प्रतिबद्ध उद्यमीलाई आवेदन दिन प्रोत्साहन गरिएको छ ।नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले नबिल एसएसईमार्फत उद्यममा मात्र नभई समुदायमा दिगो आर्थिक अवसर सिर्जना गर्न सक्ने व्यक्तिको क्षमता विकासमा पनि लगानी भइरहेको बताए ।“सातौँ फेलोसिप समूह र सर्टिफिकेट कोर्सका नयाँ समूहका लागि आवेदन खुला गर्दै गर्दा हाम्रो उद्देश्य प्रतिबद्ध उद्यमीहरूको पहिचान गर्ने, उनीहरूको क्षमता अभिवृद्धि गर्ने तथा दिगो उद्यम निर्माण र नेपालको समावेशी आर्थिक विकासमा योगदान पुर्‍याउन आवश्यक ज्ञान, सञ्जाल र उद्यमशीलता इकोसिस्टमसँग उनीहरूलाई जोड्नु हो,” उनले भने ।बैंकका अनुसार फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्समार्फत हालसम्म १ हजार ५८० जनालाई तालिम प्रदान गरिएको छ । तालिम लिएका सहभागीले ३१८ वटा उद्यम स्थापना गरी १९ हजार ३०३ जनाका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी तथा जीविकोपार्जनका अवसर सिर्जना गरेका छन् ।

    फेलोसिप कार्यक्रमका हालसम्म सम्पन्न ६ वटा समूहबाट ११३ जना प्रशिक्षित भएका छन् । उनीहरूबाट ९३ वटा फेलो–नेतृत्वका उद्यम सञ्चालनमा रहेको बैंकले जनाएको छ । त्यस्तै, सर्टिफिकेट कोर्समार्फत १ हजार ४६७ जना सहभागी लाभान्वित भएका छन् भने २२५ वटा उद्यम स्थापना भएको बैंकको दाबी छ ।सन् २०२१ मा नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको पहलका रूपमा स्थापना भएको नबिल एसएसईले आकांक्षी तथा विद्यमान उद्यमीलाई व्यवसाय विकासका लागि आवश्यक ज्ञान, सीप, स्रोत, सञ्जाल तथा वित्तीय पहुँचका अवसर उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ ।त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गतको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन हुने नबिल एसएसई फेलोसिप ६ महिनाको उद्यम विकास कार्यक्रम हो । यसले सहभागीलाई आफ्ना उद्यमको विकास, सुदृढीकरण तथा विस्तारका लागि आवश्यक क्षमता अभिवृद्धिमा सहयोग गर्ने बैंकले जनाएको छ ।

    images
    images

    त्यसैगरी, नबिल एसएसई सर्टिफिकेट कोर्स करिब तीन महिनाको व्यवहारिक उद्यमशीलता विकास कार्यक्रम हो । यो विद्यार्थी, आकांक्षी उद्यमी, प्रारम्भिक चरणका संस्थापक तथा सञ्चालनमा रहेका सूक्ष्म तथा साना उद्यमीलाई लक्षित गरिएको छ । कार्यक्रममा अवसरको पहिचान, व्यावसायिक अवधारणाको परीक्षण, व्यवहारिक व्यावसायिक मोडल निर्माण तथा उद्यम सुदृढीकरणका विषयमा ज्ञान प्रदान गरिने बैंकले जनाएको छ ।यस वर्ष सर्टिफिकेट कोर्सका लागि देशभरका १० शैक्षिक कार्यान्वयन साझेदार संस्थामार्फत आवेदन खुला गरिएको छ । कोशी प्रदेशमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, मधेश प्रदेशमा वीरगञ्ज पब्लिक कलेज र मोनास्टिक सेकेन्डरी इंग्लिश बोर्डिङ स्कुल, बागमती प्रदेशमा क्याम्पियन कलेज र बुढानीलकण्ठ स्कुल, लुम्बिनी प्रदेशमा दिव्यज्योति बहुमुखी क्याम्पस, क्षितिज इन्टरनेशनल कलेज र कोहलपुर मोडल कलेज, कर्णाली प्रदेशमा सुर्खेत मोडल कलेज तथा सुदूरपश्चिम प्रदेशमा सुदूरपश्चिमाञ्चल एकेडेमीमार्फत कार्यक्रम सञ्चालन हुनेछ ।कार्यक्रम र आवेदन प्रक्रियासम्बन्धी थप जानकारी नबिल बैंकको वेबसाइट, नबिल बैंक तथा नबिल एसएसईका आधिकारिक सञ्चारमाध्यम र सम्बन्धित शैक्षिक साझेदार संस्थामार्फत प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend